


लुम्बिनी, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी भ्रमणमा आएका जापानी नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले खादा र ढाका टोपी लगाएर स्वागत गरेका छन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिवद्धता जनाए । उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढने गरी योजना बनाउने समेत बताए ।

त्यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवद्र्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले बुद्ध जन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको बताए ।
पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनहरुको आवागमन वृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटन मन्त्रीसँग आग्रह गरे ।
‘पर्यटन र शान्ति’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तन मार्फत शान्तिको प्रवर्द्धन गरौं नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । निरन्तर वर्षात भएकाले शान्ति दीप स्थित थाई भिजिटर सेन्टरमा स्वागत गरिएको हो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना अधिकारी राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो । लुम्बिनीमा स्वागत गरिएका पर्यटकहरुलाई लुम्बिनी होटल संघ नेपालले तिलौराकोट, रामग्राम लगायतका क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए ।
लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरीक र बाह्य गरी ६ लाख १२ हजार ४७७ जना पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष करिब १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो वर्ष सिजन सुरु भएकाले पर्यटक संख्या बढ्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

