

काठमाडौं,९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसममा परिवर्तन आउने अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम विज्ञान विभागका अनुसार, आगामी बिहीबारदेखि मौसमी प्रणालीको प्रभाव थप देखिनेछ भने शुक्रबार र शनिबार यसको असर बढी पर्ने सम्भावना छ। यस अवधिमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
Advertisement

Advertisement
Advertisement
विभागको वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै हिमआँधीसमेत आउन सक्ने जोखिम छ। त्यसैले मौसम प्रतिकूल हुने अवधिमा पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिएकी छन्।
पोस्ट मनसुन अवधिमा सामान्यतया मौसम सफा रहने भए पनि बंगालको खाडी र अरब सागरमा विकसित हुने न्यूनचापीय प्रणाली तथा चक्रवातले नेपालको मौसम प्रभावित पार्न सक्ने मौसमविद्हरुको भनाइ छ।
यस मौसमी प्रणालीले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ। विशेषगरी खेतमा पाकेर भित्र्याउन बाँकी रहेको धानबालीमा वर्षा र हावाहुरीले क्षति पुर्याउन सक्ने भएकाले किसानलाई शुक्रबार र शनिबार विशेष सावधानी अपनाउन वरिष्ठ मौसमविद् पोखरेलले आग्रह गरेकी छन्।
मौसम प्रतिकूल हुन सक्ने भएकाले सम्बन्धित निकायले जारी गर्ने पूर्वानुमान तथा सूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





