

भैरहवा,९ कात्तिक । सरकारले देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाएको छ। होम एन्ड अवे अवधारणामा प्रतियोगिता सञ्चालन गर्न सकिने गरी कम्तीमा ८ हजार दर्शक क्षमताका रंगशाला निर्माण गर्न लागिएको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एनपीएलको तेस्रो संस्करणको अवसरमा शुभकामना सन्देश दिदैं फ्लडलाइट सुविधासहितका रंगशाला निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्। उनका अनुसार सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।
Advertisement

Advertisement
Advertisement
‘चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ,’ उनले भनेका छन्, ‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ।’
प्रस्तावित योजनाअनुसार देशका विभिन्न प्रमुख सहरमा आधुनिक क्रिकेट पूर्वाधार विकास गरिनेछ। यसबाट एनपीएलका खेललाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न क्षेत्रमा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय दर्शकले आफ्नै सहरमा ठूला क्रिकेट प्रतियोगिता हेर्न पाउने वातावरण निर्माण हुने विश्वास लिइएको छ।
उनले सरकारले अघि बढाएको योजनालाई सफल बनाउन नेपाल क्रिकेट संघ (क्यान) लाई पनि आवश्यक तयारी गर्न आग्रह गरेका छन्।





