


भैरहवा,८ कार्तिक। लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। बिहीवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन्। तीन जनामध्ये दुई नेपाली कांग्रेसबाट र एक जना जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका हुन्।
नेपाली कांग्रेसबाट बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र जनता समाजवादी पार्टीबाट बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । जसअनुसार नव नियुक्त मन्त्रीको शपथ गरिएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादी केन्द्रका दल नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायतको सहभागिता थियो ।

