


भैरहवा, १८ कार्तिक । थाईल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले भैरहवा–बैंकक उडान सुरु गरेको छ । चालक दलका सात सदस्यसहित आइतबार बिहान ७ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान बिहान ७ः४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
उनले विमानस्थलबाट एअर एशियाले हप्तामा दुई वटा उडान गर्ने बताए । ‘कम्पनीको लागि सुरुवाती चरण भएकोले आज आइतबार आएको र अर्को फ्लाइट ८ नोभ्मबर (कार्तिक २३) गते आउनेछ’ सूचना अधिकारी राउतले भने, ‘त्यसपछि हप्तामा सोमबार र बिहीवार दिउँसो १२ः१५ विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ ।’

भैरहवा विमानस्थलबाट एअर एशियाको यो नियमित तालिका अनुसारकै उडान हो । भैरहवा विमानस्थलबाट उडान गर्नका लागि केही दिन अघि मात्रै अनुमति पाएकोले कम्पनीले टिकट विक्री लगायत बजार प्रवद्धनका कार्य गर्न नपाएकोले विमानमा यात्रु नभएको उनले बताए ।
यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् । फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक रुपमा र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेको छ ।
सूचना अधिकारी राउतका अनुसार प्mलाई दुबई दैनिक १ः४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २ः४५ बजे काठमाडौं हुँदै दुबई जानेछ । त्यस्तै यस अघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।

