
हृदयराम गुप्ता
मर्चवार, ४ मंसिर । कृषकहरुको अहिले रसायनिक मल वितरण केन्द्र र भण्डारण केन्द्रहरुमा भीड छ । खेतमा मल हाल्नका लागि सबैकाम छाडेर मल प्राप्तीका लागि उनीहरु दौडधुपमा छन् । सरकारले प्रयाप्त मल उपलब्ध गराउन नसकेको दशकौ भयो । केहीले भारतबाट भारतीय प्रहरीको लठ्ठी खाएर र केहीले हारगुहार गरेर लुकिछिपी मल भित्रयाउनुपर्ने बाध्यता छ । समयमा मल हाल्न नपाए अनेक समस्या झेल्नुपर्ने चिन्ताले कृषकहरुलाई सताएको छ ।
सरकारले उपलब्ध गराएको मल थोरै छ । माग उच्च छ । अनुदानको मल स्थानीय स्तरमा तोकिएको मल वितरण केन्द्रबाट वितरणमा पनि भेदभाव छ । वितरण केन्द्रका संचालक समितिहरुले आफ्नालाई मल वितरण गर्दा लाइनमा बसेका किसानहरु रित्तो हात फर्किनु परेको कयौं उदाहरणहरु छन् ।
Advertisement

Advertisement
Advertisement

यस्तै मर्चवार क्षेत्रको मर्चवारी गाउँपालिकाका कृषकहरुले पनि यहाँको सहकारीमाथी मल वितरणमा असमानता र विभेद गरेको दावी गरेका छन् । गाउँपालिकाको वडा नम्बर ६ र ७ मा श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले अनुदानको मल आफ्ना निकटतम व्यक्तिलाई मात्र उपलब्ध गराएको भन्दै वडा नं. ७ का कृषकहरुले गाउँपालिका अध्यक्ष गया प्रसाद बरई र वडाध्यक्ष गणेश चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सतचण्डी कृषक समुहका अध्यक्ष विद्या सरन पालले उक्त सहकारीले एउटै वडामा पर्नेगरी निकटतम र समिति व्यक्तिहरुलाई मात्र मल वितरण गरेको दावी गरे ।
‘श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले अनुदान वापतको रसायनिक मल समूहका सदस्य, शेयरधनी, नातावाद, जातीवादहरुलाई राति १२ बजे समेत वितरण गरिरहेको अवस्था छ’,जनप्रतिनिधिहरुलाई बुझाइएको ज्ञापन पत्रमा प्रश्न गर्दै भनिएको छ, ‘शेयर सदस्य, स्वावलम्बनका समूहलाई मात्र वितरण गर्दा वडा नंं ७ का अरु किसान होइनन ? किसान हुन भने ७ नं. वडाका अन्य किसानहरुले कहाँबाट प्राप्त गर्ने त्यो कसरी कहाँबाट हुन्छ ? तपाईहरु व्यवस्था मिलाइदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।’
साथै, उक्त सहकारी संस्थाले नियमविपरित मल वितरण गरेकोले छानबिन गरी कारवाहीको माग समेत गरिएको छ ।
किसानहरुको मागलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले आगामी दिनमा वडा कार्यालय मार्फत मल वितरण गर्ने ब्यवस्था मिलाउने बताए । वडा नंं ६ र ७ को लागि आउने मल वडाध्यक्षको नेतृत्वमा वडाका किसानहरुलाई सामान रुपले मल उपलब्ध गराउने अध्यक्ष बरईले आशवासन दिएको कृषक समुहका अध्यक्ष पालले बताए ।

