
भैरहवा, ६ मंसिर । लुम्बिनी प्रदेशको बुटवल-गोरुसिंगे-चन्द्रौटा चार लेनको निर्माण हुने भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको दुरी ६९ किलोमिटर छ । हाल दुई लेनको उक्त सडक ३४ अर्ब लगानीमा ४ लेनको निर्माण हुने भएको हो ।
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी निर्माण हुन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने बताइएको छ । उक्त सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल-भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरी संग जोडिनेछ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सडक क्षेत्र भित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाईएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए ।
विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले राजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल संगको बिहीवार भेटको क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्रे उप्काएर काम अघि बढाउन निर्देशन दिए ।
‘बुटवल नारायणघाट सडक विस्तार गर्दा जुन समस्या भोग्नुपर्यो, त्यो समस्या यता भोग्नु नपरोस । काम गर्दा जनतालाई सास्ती होइन, सुविधा कसरी दिन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ’उनले भने,‘आवागमनलाई कुनै बाधा नपुग्नेगरी सडक विस्तारको कामलाई गति बढाउने बारेमा धेरै विकल्प खोजेर काम गर्न जरुरी छ ।’
सडक बिस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । सडक निर्माणको भौतिक काम २०२३ नोभेम्बरमा सुरु भएर २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ । पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

