
भैरहवा, २५ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्धारा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परिक्षण गर्न सुरु गरिएको छ । महोत्सवस्थलमा मंसिर २७ गतेसम्म निःशुल्क माटो परिक्षण हुने बताइएको छ ।
हाल खेतबारीमा बढ्दो रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । जसकारण कृषि उब्जनीसँगै विभिन्न समस्याबाट कृषकहरु ग्रसित छन् ।
Advertisement

Advertisement
Advertisement

‘कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगले उब्जनीको कमीले किसानहरुले चाहेको जति उब्जनी बढाउन सकेका छैनन्’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब के गर्ने? कसरी गर्ने? भन्ने विषयको पनि केहीलाई जानकारी छैन । जसकारण पनि हामीले महोत्सवमा माटो परीक्षण शिविर संचालनमा ल्याएका हौँ ।’
सबै किसानहरुको प्रयोगशालासम्म पहुँच र नजिक प्रयोगशाला समेत नभएकाले कृषकहरुलाई फाइदा पुग्ने गरी महोत्सवमा जानकारी सहितको माटो परिक्षणको व्यवस्था मिलाइएको उनले बताए ।
‘महोत्सवमा नेपालगंजका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण भइरहेको छ । किसानहरुले आफ्नो खेतबारीको माटो परीक्षण गर्न सक्नुहुनेछ’, संघको सदस्य एवं कृषि व्यवस्थापन समिति संयोजक यमकला न्यौपानेले भनिन्, ‘धेरै भन्दा धेरै किसानलाई यसबाट लाभ लिन आग्रह गर्दछु ।’
‘माटोको परीक्षण पछि प्राविधिकहरुले कुन मौसममा कुन खेती गर्दा उपयुक्त हुन्छ, कसरी लाभ उठाउन सकिन्छ भनेर समेत सिकाउनेछन्’, न्यौपानेले भनिन्, ‘यससँगै माटोमा अम्लियपन वा अन्य जिवाणु देखिए रोकथामको उपाय समेत सिकाउन कार्य भइरहेको छ ।’
महोत्सवमा माटो परीक्षणका लागि आएका किसान कृष्णप्रसाद बस्याल र कुलप्रसाद भण्डारीले सहकारी र कृषि समूहमार्फत् धेरै किसानको माटो परीक्षणका लागि लिएर आएको बताए । उनीहरुले वर्षौसम्म माटोको परीक्षण गर्न नपाइएको जनाउँदै भैरहवामा महोत्सव आयोजकले किसानका लागि अवसर सिर्जना गरेको जनाए ।
माटो प्राविधिक तिलकबहादुर केसीले माटोको उत्पादन क्षमता, कुन खेती र तरकारी बाली लगाउँदा उत्पादन बढी हुन्छ भन्ने कुराहरु जाँच गरेपछि किसानलाई जानकारी गराइने बताए ‘माटोको प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिने छ’, उनले भने, ‘यसले माटोको अवस्था पत्ता लगाउन मद्दत गर्नेछ । यसपछि किसानलाई हामीले त्यहीअनुसार सुझाव दिनेछौं ।’

