


बर्दिया, ५ पुस । लुम्बिनी प्रदेशको पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले ‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर घुम्न जाउँ बर्दिया अभियान सुरु गरेको हो ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रम अन्र्तगत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जस अन्र्तगत आन्तरिक र बाह्य पर्यटकलाई आर्कषित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताए । ‘बर्दिया जिल्लाको ऐतिहासिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्य स्थल हो’उनले भने,‘लुम्बिनी प्रदेशबासीलाई एकपटक बर्दिया पुग्ने गरी, भ्रमण गर्ने गरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।’
प्रदेश सरकारले कर्मचारीहरुलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि १० दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिदै उनले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गरे ।
बर्दिया राष्ट्रिय निकुञ्जसँगसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगली हात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ ।

