
भैरहवा, २६ पुस । रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउनु पर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।
Advertisement

Advertisement
Advertisement

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा शुक्रवार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।
सहकारीको रकम अपचलन सम्बन्धमा यस अघि लामिछाने गृहमन्त्री भएको बेला एक हजार आठ सय ३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ अपचलन गरेको दावीसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
‘सहकारीको रकम ठगी विषयमा पुरक जाहेरी दर्ता भएपछि पुरक अभियोजनका लागि पुनः अनुसन्धान गरेर लामिछानेसहित पुनः १४ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ’,प्रहरीले स्रोतले क्लिक लुम्बिनीसँग भन्यो,‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाको विभिन्न दफा अनुसार जेल सजाए र प्रतिवादीहरुसगँ एक अर्ब १२ करोड रुपैयाँ बिगो मागदावी गर्नुपर्ने राय समेत प्रतिवेदनमा समेटिएको छ ।’
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अभियोगमा पोखरा प्रहरी नियन्त्रणमा रहेका लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीवार रिहा भएका हुन् । त्यसलग्त्तै शुक्रवार इलाका प्रहरी कार्यालय बुटवलले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
‘प्रहरीले अनुसन्धान प्रतिवेदन हामीलाई बुझाएको छ’,रुपन्देही जिल्लाका न्यायाधिवक्ता प्रेमराज पौडेलले भने, ‘हामी रुजु गर्दैछौँ । अध्ययन गर्छौ । मुद्दा दायर गर्न अझै म्याद छ ।’
कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई गत कार्तिक २७ गते भैरहवा ल्याएर सुप्रिम सहकारी रकम अपचलनका सम्बन्धमा साढे २३ घण्टा बयान लिइएको थियो । जसमा उनले इन्कारी बयान दिएका थिए ।

