
भैरहवा, १४ माघ । भैरहवाको श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ ले कम्बल वितरण गरेको छ । जाडोयाममा बढेको शितलहरलाई मध्यनजर गर्दै सामुदायिक केन्द्रले वृद्धवृद्धा, असहाय तथा विपन्नहरुलाई कम्बल वितरण गरेको कार्यक्रम संयोजक तथा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेले बताए ।
विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै दुर्गा सामुदायिक सेवा केन्द्रले परोपकारी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । ‘सहयोग गर्न मन ठूलो हुनुपर्छ’, उनलेभने–‘सबैले सबैलाई सहयोग गर्ने भावना हुँदैन, सहयोगी हात अघि बढाउनु आफैमा महत्वपूर्ण कार्य हो ।’ पछिल्लो समय अनलाइनमार्फत ठगी गर्नेको संख्या बढेकाले सचेत रहन उनले आग्रह गरे ।
Advertisement

Advertisement
Advertisement

श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले संस्थाले विगतका वर्षमा पनि कम्बल वितरण गरेको स्मरण गरे । उनले कम्बल वितरण कार्यक्रम गरिएको स्थल (दुर्गा मन्दिर) को धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै पार्क निर्माण गरी थप व्यवस्थित गर्ने सोचका साथ अघि बढेको बताए । कार्यक्रममा ५६ जनालाई कम्बल वितरण गरिएको छ ।
सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले न्यानो बस्त्र (कम्बल) ले जाडोको मौसममा केही भए पनि राहत हुने बताए । रोटरी क्लब अफ भैरहवाका अध्यक्ष राम प्रसाद पन्थीले यस्तो पुण्य काममा क्लबलाई जोडेको भन्दै दुर्गा सामुदायिक सेवा केन्द्रलाई धन्यवाद दिए । दुर्गा सामुदायिककी सचिव रश्मि कोइरालाको धन्यवाद ज्ञापन तथा महासचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिद्धार्थनगर नगरपालिका ६ नम्बर वडा कार्यालय, रेड विंग्स रेष्टुरेण्ट एण्ड बार, सक्षम सहारा बहुउद्देश्यीय महिला समूह, सि.न.पा.–६ किशोरपुर, दिदीबहिनी समूह, किशोरपुर, एकता महिला समूह, दुर्गाकलोनीको सह–आयोजना तथा रोटरी क्लब अफ भैरहवाको सहयोगमा कार्यक्रम भएको हो ।

