
हृदयराम गुप्ता
मर्चवार, १६ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि दश वर्षे शिक्षा योजना निर्माण हुने भएको छ । योजना निर्माणको लागि विभिन्न चरणको कार्य मध्ये सोमबार सम्पन्न मस्यौदा माथी सरोकारवालाहरुको सुझाव संकलन तथा पृष्ठपोषण कार्यक्रममा सहभागीहरु गुणस्तरीय शिक्षाको लागि आफ्ना रायसुझाव राखेका थिए ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा मर्चवारी गाउँपालिका अध्यक्ष तथा शिक्षा योजना निर्माण समितिका संयोजक गया प्रसाद बरईले शिक्षा क्षेत्रमा लगानी गरे जस्तो प्रतिफल नआएको बताए । उनले भने ‘मर्चवारको अन्य पालिकाको तुलनामा मर्चवारी गाउँपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको छ । शिक्षक तलब, भौतिक संरचना र ब्यवस्थापनमा लगानी गरेका छौँ तर उक्त लगानी अनुसारको उपलब्धी आउन सकेको छैन ।’ अब मासिक रुपले शिक्षक, अभिभावक तथा विद्यार्थीहरुसँग विभिन्न चरणमा सम्बाद गर्ने कार्यक्रम लागू गर्ने उनले बताए ।
मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहले शिक्षा प्रभावकारी नभए समाजको कुनै क्षेत्रको विकास नहुने बताइन् । महिलाहरुमा शिक्षा क्षेत्रमा अधिक पहुँचको लागि कन्या विद्यालयलाई प्रभावकारी बनाउने उनले बताइन् । सबैको सल्लाह बमोजिम निर्माण गरिएको कार्ययोजनालाई विधिवत रुपले कार्यन्वयन गराई शिक्षाको स्तर उठाउने उनको भनाई छ ।
कार्यक्रममा १० वर्षे योजना प्रस्तुत गर्दै मर्चवारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले पालिकामा शिक्षकको न्यून दरबन्दी मुख्य चुनौती देखिएको बताए । उनले भने ‘विद्यालयमा तह अनुसारको दरबन्दी एकदम न्युन छ । अध्यापन कार्य अवरुद्ध नहुनका लागि गाउँपालिकाबाट शिक्षक कोटा प्रदान गरि विद्यालय मार्फत भर्ना गरिएको छ । शिक्षाको लागि जति बजेट बिनियोजन हुँदा ९० प्रतिशत शिक्षकको तलबमै खर्च हुने भएको हुँदा अन्य ब्यवस्थापन तथा अतिरिक्त क्रियाक्लाप हुन सकेको छैन ।’

मर्चवारी गाउँपालिकाको जनसंख्या तथा विद्यार्थीहरुको अनुपातमा शिक्षा कार्ययोजनामा आवश्यक क्रियाकलाप समावेश गरिएको उनले बताए । कार्ययोजनाका विभिन्न तथ्यांक प्रस्तुत गर्दै शिक्षा उनले २०७८ को जनगणना अनुसार ४० हजार ८ सय ८० जनसंख्या रहेको पालिकामा सामुदायिक विद्यालय १५, संस्थागत विद्यालय १५ र मदरसा ८ गरी जम्मा ३८ विद्यालय रहेको बताए । जसमा एक प्राविधिक ४९ बालविकास केन्द्र र तीन सामुदायिक सिकाइ केन्द्र छन् ।
सामुदायिक तथा धार्मिक विद्यालयहरुमा ९ हजार ४ सय १७ तथा संस्थागत विद्यालयमा ४ हजार ४ सय ६८ गरी १३ हजार ८ सय ५९ विद्यार्थीहरु छन् । वि.सं. २०९० सम्मका लागि निर्माण गर्न थालिएको शिक्षा योजनामा शिक्षा क्षेत्रका सबल पक्ष, शैक्षिक समस्या, अवसर, चुनौती, लक्ष्य, रणनिती, शैक्षिक अवस्था, भौतिक संरचना, आवश्यक जनशक्ति, बालबिकास, आधारभूत, माध्यमिक सहित प्राविधिक शिक्षाको विभिन्न पक्षहरुबारे छलफल गरिएको थियो ।
छलफल तथा सुझाव संकलनमा वडाअध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, संचारकर्मी लगायत सरोकारवालाहरु निर्माणधीन शिक्षा योजनामा विभिन्न पक्षहरुमा सुझाव राखेका थिए ।
जनता माध्यमिक विद्यालय ओडवलियाका शिक्षक रामसरन यादवको संचालनमा सम्पन्न उक्त कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यक्रम प्रबन्धक हरिचंद्र चौधरी, टेक्निकल अफिसर सुचेता शाक्य र सुपरवाइजर बिजय पाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम युएसएआइडी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम र कालिका स्वावलम्बन सामाजिक केन्द्र प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

