
काठमाडौं,२०जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।
Advertisement

Advertisement
Advertisement

सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो हैसियत दुरुपयोग गरी गैरकानूनी रुपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।
आम्दानीका स्रोत पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदिबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र रहेको पाइएको छ। तर, सो अवधिमा सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, शेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका थिए।
कुल आय र व्ययको तुलना गर्दा सोडारीको स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा रहेको आयोगको दाबी छ। सोडारीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा १६ को उपदफा (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिमको कसुर गरेको अख्तियारको दाबी छ।
आयोगले सोडारीका श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।
विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रमा सोडारीलाई भ्रष्टाचार गरेको ठहर गरी बिगोअनुसार कैद र जरिवाना गराउन माग गरिएको छ। साथै, सोडारीले सम्पत्ति विवरणमा वास्तविक विवरण उल्लेख नगरी झूटा विवरण पेश गरेको पाइएकाले थप कारबाहीको माग गरिएको छ।

