


पाल्पा,९ चैत। पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ। जलविद्युतको बाँध क्षेत्रमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ भने अर्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीका अनुसार, भारतको उत्तर प्रदेश अन्तर्गत सन्तकबिरनगर जिल्लाबाट घुम्न आएका ७ जनामध्ये २ जना डुबेर बेपत्ता भएका थिए।

उनले डुबेको स्थानबाट करिब १०० मिटर तल एक जनाको शव सोमबार बिहान फेला परेको बताए। डीएसपी चौधरीका अनुसार, मृत्यु हुनेमा भारतको उत्तर प्रदेश,सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ का १७ वर्षीय अमान अन्सारी रहेका छन्। सोही स्थानका १७ वर्षीय फरहान अन्सारी बेपत्ता छन्।
घुम्न आएका टोलीका अन्य ५ जना सदस्यहरु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

