


मर्चवार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले कोटहीमाई गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा भ्रष्टाचारको परिभाषा र संवैधानिक व्यवस्था, सुशासनको अवस्था, कानुनी तथा संरचनागत व्यवस्था, भ्रष्टाचारजन्य कसुर र सजाय, आयोगको क्षेत्राधिकार, उजुरी दर्ता तथा छानबिन प्रक्रिया, साथै उजुरीको अवस्थालगायतका विषयमा विस्तृत छलफल गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकी प्रमुख बिनिता भट्टराई ले जानकारी दिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले यस्ता अन्तरक्रियाले जनप्रतिनिधि र कर्मचारीमा जिम्मेवारीबोध तथा इमान्दारिताको भावना थप मजबुत बनाएको बताए। उनले नियम–कानुनप्रति सबै सचेत र जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए। ‘कानुनी पालनाले समाजलाई भ्रष्टाचार मुक्त र सुशासनमुखी बनाउने छ’,उनले भने,‘हामी सबैले कानुनको पालना गरे समाजको विकास देश समृद्ध हुने छ ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादव, वडा नं. ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता संजय कुमार सैनी, शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी, तुनिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवपुजन यादव लगायतले पनि आफ्नो धारणा राखेका थिए।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षाकर्मी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

