


भैरहवा,४ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ऋण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको दावीसहित आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको हो।

अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले गत बैशाख ४ गते खाम्चालाई २ लाख रुपैयाँ घुससहित भैरहवाबाट नियन्त्रणमा लिएको थियो। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गर्दै बिगो दुई लाख कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबी गरेको जनाएको छ।
अनुसन्धानमा घुस लिएको पुष्टि हुन आएपछि उनीविरुद्ध आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।

