

लुम्बिनी, २ कार्तिक। लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको विरोध सुरु भएको छ।
लुम्बिनी बचाउ महाअभियान, राष्ट्रिय जेनजी नागरिक अभियान, जेनजी फ्रन्ट लगायतले नियुक्तिको विरोध गर्दै तत्काल निर्णय खारेज गर्न माग गरेका छन्। माग सम्बोधन नभए आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन्।
Advertisement

Advertisement
Advertisement
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
उपाध्यक्षमा नियुक्त भएको डोल्माको नेपाली नागरिकताको प्रमाणपत्र, हङकङबाट आएको भनिएको करोडौँ रुपैयाँ र त्यससम्बन्धी विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनबारे समेत प्रश्न उठाइएको छ।
लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्ति गर्दा विवादित व्यक्तिलाई जिम्मेवारी दिइएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन्।
लुम्बिनी बचाउ महाअभियानले ‘तिब्बतियन नागरिक आनीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा प्रवेश निषेध, लुम्बिनीलाई ठग्न पाइदैन, आनी हामीलाई चाहिदैन’ नारा र मागसहितको ब्यानर उपाध्यक्षको कार्यालय अगाडी नै टासेर विरोध जनाएको छ।

अभियानका अध्यक्ष अक्रम खानले पनि डोल्माको नियुक्ति खारेज गर्न माग गरेका छन्। लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा उनले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझेको, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताए।
यस्तै राष्ट्रिय जेनजी नागरिक अभियानले विज्ञप्ति जारी गर्दै कानुनी अनुसन्धानको घेरामा रहेको भनिएको व्यक्तिलाई पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र व्यवस्थापन गर्ने निकायको नेतृत्व दिनु विधिको शासन र सुशासनको सिद्धान्तविपरीत भएको दाबी गरेको छ।
जेनजी फ्रन्टले पनि काठमाडौंमा पत्रकार सम्मेलन गरी डोल्माको नियुक्तिप्रति विरोध जनाएको छ। सरकारले सुशासन कायम गर्ने प्रतिबद्धता जनाइरहेका बेला यस्तो नियुक्तिले सरकारको सुशासनसम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएको फ्रन्टको भनाइ छ। उसले पनि नियुक्ति तत्काल फिर्ता लिन माग गरेको छ।





