


परासी । पश्चिम नवलपरासीमा इलाका प्रहरी कार्यालय बेलाटारीको नवनिर्मित भवनको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुबेर कडायतले उद्घाटन गरेका छन् ।
बुधबार एक कार्यक्रमका बीच डिआईजी कडायतले प्रतापपुर गाउँपालिका-९ मा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दैै उनले प्रहरी र समुदायले समाजबाट अपराधिक नियन्त्रण गर्न एक अर्काका सहयोगी बन्नु पर्ने बताए ।

समाजमा रहेका लागु औषध कारोबारी, अपराधिक गतिबिधि गर्ने समूह वा व्यक्तिलाई नियन्त्रण गर्न जरुरी रहेको र त्यसको लागि प्रहरी र समुदाय एक अर्काको सहयोगी बन्नु पर्ने उनले सुझाए ।
प्रहरीद्वारा पुर्याइने सेवा सुविधामा कुनै प्रकारको बहाना बाजि गर्न नहुने धारणा राख्दै सुरक्षाकर्मीले आफ्नो आचरण, व्यवहार सुधार गर्दै सत्य सेवा सुरक्षणमको आदर्शलाई नागरिक केन्द्रित गर्नुपर्ने वर्तमान समयको माग रहेको डि.आइ.जि. कडायतले मातहतका निकायलाई निर्देशन पनि दिए ।
नव निर्मित ईलाका प्रहरी कार्यालय भवनमा १४ कोठा,१ भान्साघर र १ स्नान घर रहेको छ भने कुल ३ करोड ३१ लाख ७१ हजारको लागतमा भवन निर्माण भएको डि.एस.पि. इन्जिनियर रोसन सारुले जानकारी दिए ।

