
भैरहवा, ८ भदौ । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भित्राइएको आशंकामा ९ लाख बढी मूल्य बराबरको चिनी र कपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।
शनिवार भन्सार कार्यालयले सशस्त्र प्रहरीको सहकार्यमा एकाबिहानै २ बजेदेखि ५ बजेसम्म चलाएको अपरेशनमा चिनी र कपडा बरामद भएको जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार भैरहवा लुम्बिनी सडकखण्डको रमवापुरबाट ७ लाख २० हजार रुपैयाँ बराबरको दुई सय चालिस बोरा चिनी र दुई लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो । चिनी ढुवानीका लागि प्रयोग गरिएको ग २ ख १२९० नम्बरको ट्रक समेत नियन्त्रणमा लिइएको उनले जनाए ।
Advertisement

Advertisement
Advertisement

चिनी ट्रकमा लोड गरेर ढुवानी गर्न लागिएको थियो भने कपडा भारतबाट मोटरसाइकलमा भन्सार छलेर भित्राइएको अवस्थामा बरामद भएको उनले बताए । उनले विशेष सूचनाको आधारमा भन्सार छलेर भित्राइएको चिनी बरामदगीका खटिएको बेला दुई वटा मोटरसाइकलमा दुई बन्डल कपडा भित्राइएको देखिएपछि कपडा पनि नियन्त्रणमा लिइएको बताए ।
ट्रक नियन्त्रणका लागि पुगेलग्त्तै ट्रक चालक गाडीको साँचो लिएर फरार भएको र कपडा नियन्त्रणका लागि मोटरसाइकल पछ्याउँदा उनीहरु कपडा छाडेर फरार भएको उनको भनाई छ ।
पछिल्लो समययता भन्सार कार्यालयसहित रुपन्देहीको प्रहरी–प्रशासन भन्सार छलीविरुद्ध आक्रमक रुपमा उत्रिएको छ । भैरहवा भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलेर भित्राइएको साम्रगीहरु धमाधम बरामद गर्नुका साथै साम्रगी भण्डारण गरेको गोदाममा समेत छापा मारेर बरामद गर्ने कार्यमा तिव्रता दिएको पाइएको छ ।

