


भैरहवा, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको विषयबारे प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा समाचार शैलीमा जानकारीमूलक स्ट्याटस पोष्ट भएपछि प्रधानमन्त्रीको आलोचना भएको छ ।
निगमले मूल्य घटाएको विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशित भएको करिब एक घण्टा पछि प्रधानमन्त्री रहेका ओलीको आधिकारिक फेसबुक पेजमा मूल्य घटेको विषयमा स्ट्याटस पोष्ट गरिएको थियो ।

समाचार तयार पार्दासम्म दुई हजार चार सय कमेन्ट आएको उक्त जानकारीमूलक स्ट्याटसमा अधिकांशले प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । स्ट्याटसको कमेन्टमा केहीले दुई रुपैयाँ घटाएको विषयलाई स्ट्याटस पोष्ट गर्न नहुने र केहीले स्वचालित प्रणालीबाट मूल्यको घटबढ हुने भएकोले प्रधानमन्त्री ओलीले मूल्य घटेको जस लिन खोजेको धारणा व्यक्त गरेका छन् ।
आशिष अर्याल नामक फेसबुक प्रयोगकर्ताले उक्त स्ट्याटसमा कमेन्ट गर्दै भनेका छन्-‘स्वचालित मूल्य प्रणाली बाट घटेको पेट्रोलियम पदार्थ मूल्य, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको देखेर यो देशमा ठुला देखि साना सम्म सबैले गर्ने भनेको स्टन्ट मात्र रहेछ ।यथार्थ।’
अर्का फेसबुक प्रयोगकर्ता कामदेव ओझा स्ट्याटसको कमेन्टमा लेख्छन्-‘यसमा नेपाल सरकारको कुनै जस वा अपजस छैन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु वा घट्नु भारतमा निर्भर हुन्छ । नेपालमा स्वचालित तरिकाले बढ्ने घट्ने हुन्छ । भारतले महिनाको अन्तिम दिन ३१ तारिख र १५ तारीखमा घटाउने वा बढाउने निर्णय गर्छ त्यसै अनुसार नेपालमा नि घट्ने बढ्ने हो । कसैले स्टाटस हालेर जस वा अपजस नलिए हुन्छ ।’
त्यस्तै फेसबुक प्रयोगकर्ता शिवेन्द्र कुमार यादवले प्रश्न गर्दै उक्त स्ट्याटसमा कमेन्ट गरेका छन्-‘स्वचालित प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन भएर आए बमोजिम नै नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन गरिएको हो कि सस्तो लोकप्रियताका लागि सरकारी स्वामित्वमा रहेको सार्वजनिक संस्थानलाई नोक्सानमा पुर्याउने गलत मनसायका साथ ठाडो हस्तक्षेपबाट पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन गरिएको हो ?’
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रति किलोलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ।


