

काठमाडौं, २ कात्तिक। राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति खारेज गर्न माग गर्दै कात्तिक ९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले नियुक्ति प्रक्रिया पारदर्शी नभएको भन्दै सरकारसँग निर्णयको औचित्यबारे जवाफ माग गरेको छ।
Advertisement

Advertisement
Advertisement
अभियानका संयोजक सुनिल सिंहले नियुक्तिले देशभक्त नेपाली नागरिकको अपमान भएको दाबी गर्दै निर्णय खारेज नभए संघर्षका कार्यक्रम अघि बढाउने बताए। अभियानका प्रतिनिधिहरुले डोल्माको नागरिकता, पृष्ठभूमि तथा नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै लुम्बिनी विकास कोषको नेतृत्वमा विषयविज्ञ, स्वच्छ छवि भएको र स्थानीय व्यक्तिलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्ने माग गरेका छन्।
अभियानकी अभियन्ता सफलता बोगटीले तीन महिनाअघि ७२७ जना विज्ञले आवेदन दिएको उल्लेख गर्दै आवेदन नै नदिएको भनिएकी डोल्मा कसरी छनोट भइन् भन्ने प्रश्न उठाइन्। उनले नियुक्ति प्रक्रियामा पारदर्शिता हुनुपर्नेमा जोड दिइन्।
पत्रकार सम्मेलनमा अभियानका प्रतिनिधिहरुले नियुक्तिलाई विभिन्न विदेशी स्वार्थसँग जोडेर आरोपसमेत लगाए।
जेनजी अभियन्ता सुनिल विकले डोल्माले आफ्नो पुस्तक ‘फूलको आँखामा’ मा तिब्बती शरणार्थी भएको स्वीकार गरेको दाबी गर्दै लुम्बिनी विकास कोषको नेतृत्वमा नियुक्ति गर्दा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाए ।
अभियानले नियुक्ति खारेज गरी पारदर्शी प्रक्रिया अपनाउन माग गरेको छ। कात्तिक ९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए पनि आन्दोलनका कार्यक्रमको विस्तृत स्वरुप सार्वजनिक विवरणमा खुलाइएको छैन।





