


भैरहवा, १६ भदौ । रुपन्देही प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा कोटहीमाई गाउँपालिका कार्यालयका दुई कर्मचारी सहित तीन जनालाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका ३५ वर्षिय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् ।

कोटहीमाई गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड (कहार)ले कार्यालयका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे । उनले भने, ‘कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको मैले पनि फेसबुकहरुबाट थाहा पाए । कानुन अनुसार प्रक्रिया अघि बढ्छ ।’
‘जबरजस्ती करणी मुद्दामा तीन जनाको नाम किटान गरेर जाहेरी प्राप्त भएको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले भने ‘जस अनुसार हामीले तीन जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ ।’
उनले सामुहिक बलात्कार भए/नभएको लगायत विषयमा अनुसन्धान भइरहेकोले अहिले नै केही भन्न नसकिने बताए । घटना केही दिन अघिको र घटनास्थल लुम्बिनी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ । जाहेरी अनुसार घटना जघन्य अपराधको भएपनि मर्चवारमा यसले राजनीतिक रंग लिएको छ ।

