


भैरहवा, १७ भदौ । रुपन्देहीमा एक युवतीले आफुमाथी जबरजस्ती करणी (बलात्कार) भएको भन्दै दिएको जाहेरी उपर प्रहरीले कार्यवाही अघि बढाएको छ ।
आरोपीहरुलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गर्नका लागि जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टले बताए ।

‘अनुसन्धानका लागि आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद लिएका छौँ’, उनले भने, ‘घटनालाई गम्भिरताका साथ लिएर अनुसन्धान गरिरहेका छौँ ।’
घटनामा संग्लन आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिकाका शिक्षा शाखामा कार्यरत ३२ वर्षिय मनोहर चौधरी, गाउँपालिकाकै उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय बंटी भन्ने शैलेश पाण्डेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
घटनाबारे जाहेरी दर्ता पश्चात मर्चवारमा युवाहरुले प्रदर्शन गरेका छन् भने प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

