


भैरहवा, २० भदौ। नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा खुल्ला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ । १११औं विपी जयन्तीको अवसरमा ‘खुल्ला मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । पाँच किलोमिटको खुल्ला मिनी म्याराथन भदौ २४ गते हुनेछ ।
युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए । पाँच किलोमिटरको प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भइ बुद्धचोक, नारायणस्थान, प्रहरी टोल हुँदै मिलनचोक (पवन मिष्ठान) मा समापन हुने कार्यक्रम संयोजक तथा काँग्रेस रुपन्देही जिल्ला सदस्य ओम कुमार श्रेष्ठले जानकारी दिए ।


प्रतियोगितामा खुल्ला र महिलातर्फ विजेताले अलग अलग पुरस्कार पाउनेछन् । खुल्लातर्फ प्रथमले दश हजार रुपैयाँ र मेडल, द्वितीय पुरस्कार पाँच हजार रुपैयाँ र मेडल, तृतीय पुरस्कार र तीन हजार र मेडल र सान्त्वना पुरस्कारहरु २ जनालाई १ हजार ५ सय र मेडल प्रदान गरिने छ । त्यस्तै महिलातर्फ प्रथम पुरस्कार दश हजार तथा मेडल, द्वितीयले पाँच हजार र मेडल, तृतीयले तीन हजार र मेडल प्रदान गरिने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

