
भैरहवा,२३ भदौ । घटना १: ०८० पौष ६ गते यूपी ६४ टी १९३८ नम्बरको ट्रकमा १६ लाख २८ हजार बढी मूल्य बराबरको ५१ हजार ६ सय ९६ थान क्लोज अप ब्राण्डको टुथ पेस्ट भन्सार छलेर भारत लैजान खोज्दा भैरहवा भन्सार कार्यालयले बेलहिया नाका नजिकैबाट साम्रगी सहित ट्रक नियन्त्रणमा लियो । चालक फरार भए ।
घटना २: ०८१ बैशाख २६ गते १५ लाख २६ हजार बढी मूल्य बराबरको भारतबाट भन्सार छलेर भित्राइएको ३ सय ६३ केजी हुक्का फ्लेवर, जर्जेट २७५ मिटर, नेट इम्ब्रोइडरी २७५ मिटर, लेडिज सुट ७२ थान, रेशा साडी ८५ थान सहित लु २ ख १२५३ नम्बरको टिपर रुपन्देहीको बेथरी क्षेत्रबाट भन्सार कार्यालयले नियन्त्रणमा लियो । साथै चोरी पैठारी अभियोगमा टिपर चालक संजित हरिजन र संग्लन दिपक पत्थकरट्टलाई पक्राउ गर्यो ।
Advertisement

Advertisement
Advertisement

घटना ३: ०८१ भदौ १३ गते भारतबाट भन्सार छलेर भित्राइएको साढे दश टन (२१० बोरा) चिनी लु २ ख २८३६ नम्बरको ट्रकमा पोखरा लैजाने क्रममा मायादेवी गाउँपालिकाको झुलनीपुरबाट भन्सार कार्यालयले नियन्त्रणमा लियो । साथै, ट्रक चालक शिवकुमार यादवलाई पनि पक्राउ गर्यो ।
यी प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् । पछिल्लो समय भैरहवा भन्सार कार्यालयले चोरी पैठारी गरेर भित्राइएका विभिन्न साम्रगीहरु धमाधम बरामद गर्न थालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आ–आफ्नै तरिकाले नियन्त्रणमा लागेका छन् । तर, भैरहवा भन्सार वर्षौ पछि सक्रिय भएको देखिएको छ । भैरहवा भन्सार निरन्तर फिल्डमै खटिएर ठूला परिमाणमा धमाधम साम्रगी नियन्त्रण लिइरहेको सम्भवतः पहिलो पटक हो ।
‘हामीलाई सूचना आइरहेको छ, त्यस अनुसार भण्डारण गरेको देखि लिएर देशका विभिन्न सहरमा लैजान लागेको अवस्थामा भन्सार छलेर भित्राइएका विभिन्न साम्रगी नियन्त्रण लिइरहेका छौँ’, भैरहवा भन्सार कार्यालयका प्रमुख नाराद गौतमले क्लिक लुम्बिनीसँग भने, ‘चाडपर्वमा कालोबजारी, कृत्रिम अभाव, जम्माखोरी समेत गर्नका अहिले तस्करहरुले लुकछिपी चिनी, कपडा लगायत साम्रगी भित्राइरहेको पाइएको छ । जस अनुसार हामीले तस्करी गरेर भित्राइएको ती साम्रगीहरु नियन्त्रणमा लिइरहेका छौँ ।’
पछिल्लो एक हप्तामा मात्र देशका विभिन्न सहरमा लैजान लागिएको तीन वटा ट्रक सहित ३३ हजार किलो चिनी कार्यालयले बरामद गरेको छ । भन्सारले दैनिकजसो गोदाममा छापा मार्ने र अन्य सहरमा लैजान बेलामा गाडी सहितका साम्रगी नियन्त्रणमा लिइरहेको छ । ‘भन्सार छली नियन्त्रणका लागि सूचना आवश्यक हुन्छ । जुन मैले संकलन गर्दै काम गरिरहेको छु’, उनले भने, ‘दिउँसो कार्यालयमा र तस्करी हुने समय राति हामी फिल्डमा खटिएर काम गर्दा परिणाम देखिदैछ ।’
उनले प्राप्त सूचनालाई गम्भिरताका साथ लिएर कार्यवाही गर्दा सूचकहरुको विश्वास जितेर काम गर्दा सूचनाहरु प्राप्त भइरहेको बताए । सुराकीलाई पुरस्कारको व्यवस्था रहेपनि साम्रगी नियन्त्रणका लागि पूर्वसूचना संकलन गर्न बजेट नभएको अवस्थामा पनि भन्सार छली नियन्त्रणतर्फ कार्यसम्पादन गरिरहेको उनको भनाई छ । कार्यालयका अनुसार पछिल्लो साढे दश महिनामा भन्सार कार्यालयले ४ करोड ५ लाख ३३ हजार बढी मूल्य बराबरको कपडा, चिनी, मटर, सूर्ती, टुथ पेस्ट, प्याज, हुक्का फ्लेवर, चुरोट लगायत विभिन्न साम्रगी बरामद भएको छ ।
साथै, भन्सार छलीका साम्रगी ढुवानीमा प्रयोग भएका २ करोड ३४ लाख ७५ हजार मूल्य बराबरको ट्रक, पिकअप, कार, मोटरसाइकल लगायतका सवारी साधन पनि नियन्त्रणमा लिएको छ भने चोरी पैठारी अभियोगमा आठ जनालाई पक्राउ गरी कारवाही गरिएको छ ।‘फिल्डमा पुग्दा सूचना दिने सूचक सम्पर्कबिहिन हुने गर्दा कयौँ पटक हामी खाली हात फर्किएका छौँ’ उनले क्लिक लुम्बिनीसगँ भने, ‘तर, पनि फिल्डमा खटिरहँदा भन्सार छली नियन्त्रण गरिरहेका छौँ ।’

