
भैरहवा,२९भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्षौ देखि लुम्बिनी विकास कोषमा थन्किएको विद्युतीय सवारीसाधन संचालन गर्न निर्देशन गरेका छन् ।
लुम्बिनीको पर्यटन प्रवद्र्धनका साथै प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र १३ वटा साना गाडी (भ्यान) गरी १९ वटा विद्युतीय सवारी साधन लुम्बिनीमा ल्याइएको थियो । तर, विकास कोषको उदासिनताका कारण उक्त सवारी साधन सर्वसाधरणका लागि संचालन हुन सकेको छैन । कर्मचारीहरुले भने आफु चढ्नका लागि भ्यानको प्रयोग गरिरहेका छन् ।
Advertisement

Advertisement
Advertisement

शनिवार लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका छन् ।
‘कसरी हुन्छ ति सवारी साधन चलाउनुस । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’उनले भने,‘राज्यलाई प्राप्त सम्पत्ति यसरी काम विहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन। कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’
लुम्बिनी विकास कोषको नाममा दर्ता रहेका उक्त सवारीसाधनको माध्यमले पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्धसर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पुर्याउने उद्देश्य थियो । एसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ ।

