


कपिलवस्तु,६असोज। कपिलवस्तु प्रहरीले गोली लोड गरेर राखिएको पेस्तोल सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बस्ती जिल्ला गौतमपिपराका ३५ वर्षीय प्रितम कुमार र उत्तर प्रदेशको देबापार हरनखाका २२ वर्षीय सुरज द्विवेदी रहेको प्रहरीले जनाएको छ ।
कृष्णनगर नगरपालिकाको सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको अवस्थामा उनीहरुलाई एक थान पेस्तोल र पाँच थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवरत्न पौडेलले जानकारी दिए।

उनका अनुसार चेकजाँचका क्रममा पक्राउ परेका द्विवेदीले कम्मर पछाडी लुकाएर राखेको गोली लोडेड सहित मेड ईन कानपुर लेखेको पेस्तोल बरामद भएको हो। त्यस्तै, उनीहरुको साथबाट फेरामाईन ईन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान र केही नाम नखुलेको औषधी केही थान बरामद भएकोछ ।
पक्राउ परेकाहरुको उपर हातहातियार तथा खरखजाना कसुर सम्बन्धी मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

