
दाङ,६असोज। लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुका लागि १४ बुँदे निर्देशन जारी गरेको छ। आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरे भएलग्त्तै कर्मचारीहरुका लागि निर्देशन जारी भएको हो। ‘सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकले गुनासो गर्ने र त्यसलाई सम्बोधन गर्ने गरी योजना बनेको छ’मुख्यमन्त्री चेतनारायण आचार्यले भने,‘बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्बोधन नगर्ने जस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न निर्देशन जारी गरेका हौं ।’
Advertisement

Advertisement
Advertisement

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिथा लागू गरिसकेको छ । प्रदेशस्थित निकाय तथा कार्यालयहरुले सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्न, आर्थिक गतिविधिमा मितव्ययीता कायम गर्न, खरिद एवं जिन्सी व्यवस्थापन, सूचना व्यवस्थापन एवं गुनासोको प्रभावकारी सम्बोधन गर्न, निकायगत समन्वय, अनुगमन एवं प्रतिवेदनका साथै सार्वजनिक जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि निर्देशन जारी गरिएको छ ।
यस्तो छ निर्देशन
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट जारी भएको निर्देशनमा सेवाग्राहीमैत्री सेवालाई प्राथमिकतामा राखिएको छ । प्रत्येक मन्त्रालयले अनिवार्य रुपमा ई-हाजिरी को प्रबन्ध मिलाउने, ई-हाजिरीलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणालीसँग अनिवार्य आवद्ध गर्ने, कर्मचारीको विदा, काज तथा भ्रमण स्वीकृत गर्दा कार्यसम्पादन सेवा प्रवाहमा असर नपर्ने सुनिश्चित गरेर मात्रै गर्ने, विदा, काज तथा भ्रमण स्वीकृति अनिवार्य रुपमा जिआइओएमएस प्रणालीमार्फत गर्ने, कार्यालयमा अनावश्यक मौज्दात नरहने गरी एवं आवश्यकता र औचित्यका आधारमा मात्र जिन्सी सामान खरिद गर्ने निर्देशनमा उल्लेख छ ।
पचास लाख वा सो भन्दा माथिका आयोजना/कार्यक्रमको हकमा कार्यतालिका कार्ययोजना अनुसार कार्यसम्पादन भए नभएको मासिक रुपमा अनुगमन गरी प्रतिवेदन लिने एवं अद्यावधिक गर्ने, कार्यसम्पादन अवस्था सन्तोषजनक नभएकाहरुलाई तत्काल पृष्ठपोषण, प्राविधिक सहायता आवश्यक भए उपलब्ध गराउने, मन्त्रालय वा मातहत कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन एवं कार्यप्रकिया सहज बनाउने गरी महाशाखा, शाखा, फाँट, सहायता कक्ष (हेल्प डेस्क), प्रतिक्षालयको व्यवस्थापन गर्ने विषय समेटिएको छ ।
मन्त्रालयबाट वार्षिक कार्यक्रम कार्यान्वयनका लागि स्वीकृत कार्ययोजना अनुसार कार्यसम्पादनको अवस्था बारेमा नियमित अनुगमन गर्ने, मासिक समीक्षा तथा बैठक पूर्णतः कार्ययोजनाको कार्यान्वयन अवस्थाको समीक्षा र अन्य समसामयिक विषयहरुमा मात्रै केन्द्रित गर्ने, कार्यालयको वेबसाईटलाई सूचनामूलक बनाउने, साथै प्रयोगकर्तामैत्री हुने गरी वेबसाईट व्यवस्थापन गर्ने, वार्षिक कार्यक्रम अन्तर्गतका बैठक, तालिम, गोष्ठी लगायत सञ्चालन गर्दा सम्भव भएसम्म सहभागी प्रशिक्षार्थीलाई अनुकूल हुने स्थानमा रहेका सरकारी प्रशिक्षण संस्था, निकाय वा कार्यालयहरुसँग समन्वय गरी त्यस्ता संस्था, निकाय वा कार्यालयको सभाहल प्रयोग गर्ने उल्लेख छ ।
त्यस्तै प्रचलित कानून बमोजिम प्रवक्ता एवं सूचना अधिकारीको फोटोसहितको विवरण सहजै देख्न सकिने गरी अनिवार्य रुपमा कार्यालयमा राख्ने साथै उक्त विवरण वेवसाइटमा समेत अद्यावधिक गर्ने, सूचना अधिकारीको लागि कार्यालयले छुट्टै मोबाईल नम्बर व्यवस्था गर्ने, सूचनाको हक सम्बन्धी कानुन बमोजिम स्वतः प्रकाशनलाई सबै निकायले अनिवार्य रुपमा समयमा नै वेबसाईटमार्फत प्रकाशन गर्ने, हरेक निकायमा उजुरी तथा गुनासो व्यवस्थापनको लागि प्रभावकारी संयन्त्र विकास गर्ने, उजुरी, गुनासोपेटिका अनिवार्य राख्ने वा वेबसाईट तथा सामाजिक सञ्जालको माध्यमबाट समेत गुनासो गर्न सकिने व्यवस्था मिलाउने, गुनासोको समयमा नै सम्बोधन गर्ने तथा सोको अभिलेख राख्ने व्यवस्था गर्ने, मन्त्रालयले मातहत निकायहरुको गुनासो सुनुवाईको अवस्थाका बारेमा नियमित प्रतिवेदन लिई समीक्षा गर्ने विषयलाई प्राथमिकिताका साथ निर्देशनमा समेटिएको छ ।

