
भैरहवा,१६असोज। लुम्बिनी प्रदेशमा विपद्जन्य घटनामा राहत र पुर्नस्थापना लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ निकासा गरेको छ । सरकारले चालु आर्थिक बर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको हो।
प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुर्नस्थापनाको लागि रकम उपलब्ध गराउदै आएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।
Advertisement

Advertisement
Advertisement

‘एक त विपद् आउनै भएन् । आएको खण्डमा त्यसबाट हुने क्षतिलाई कम गर्नेगरी प्रतिकार्यका योजना कार्यान्वयनमा जोड दिन जरुरी छ’उनले भने,‘प्रदेश सरकारले दिने राहत तथा पुर्नस्थापनाको रकम सबै प्रक्रिया पुरा भएर आएको खण्डमा तत्काल निकासा गरिन्छ ।’
साउन, भदौ र असोज महिनाको १३ गते सम्मको विवरण अनुसार राहत तर्फ ३४ लाख ७५ हजार र पुर्नस्थापना तर्फ ५ लाख २५ हजार रुपैयाँगरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ । राहत तर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा ३ लाख ८० हजार, बर्दिया जिल्लामा २ लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहत स्वरुप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए।
यस्तै पुर्ननिर्माणको लागी प्यूठान जिल्लामा पाँच लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । बाढी, पहिरो, आगलागी, चट्याङ् लगायतमा विपद्मा परेकाहरुलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुर्नस्थापनाको लागि रकम उपलब्ध गराउदै आएको हो ।
गत आर्थिक बर्षमा प्रदेश सरकारले राहत र पुर्नस्थापनाको लागि पाँच करोड २६ लाख ९६ हजार ७ सय १९ रुपैयाँ उपलब्ध गराएको छ।
प्रदेश सरकारका अनुसार चालु आर्थिक बर्षको साउन देखि असोज १३ गते सम्म प्रदेशमा विपद्का चार सय छ घटना घटेका छन् । जसमा ९५ जनाको मृत्यु भएको छ भने दुई सय ७ जना घाईते र १० जना वेपत्ता भएका छन् । विपद्को घटनाले पाँच करोड ११ लाख ९५ हजार पाँच सय रुपैयाँ क्षती भएको छ ।

