


भैरहवा,२३असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले समाजको समस्या लिएर भेट्न आएका विद्यार्थीहरुलाई टिका र खादा लगाएर सम्मान गरेका छन् । साथै, उनले विद्यार्थीहरुले अवगत गराएको समस्याबारे तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
विद्यार्थीहरुले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २, मेउडिहवा स्थित जिसी पथमा कुलोको पानीका कारण सडकको अवस्थाका खराब भएकोले सडक र नाला निर्माण र तत्काल समस्या समाधानका लागि नदीजन्य पदार्थ खसाल्न मेयर समक्ष निवेदन लिएर पुगेका थिए ।

कक्षा ५ मा अध्ययनरत अनिल गुप्ता र ८ मा अध्ययनरत राजिव गुप्ताले राखेको उक्त गुनासो उपर उनले तत्काल कार्यवाही गर्दै समस्या समाधानका लागि सम्बन्धित शाखालाई निर्देशन दिए ।
मेयर खाँले विद्यार्थीहरु भविष्यका कर्णाधार भएको उल्लेख गर्दै सानै उमेरदेखि समाजसेवाको भाव आउनुु, आफ्ना समस्या सरोकारवालासँग राख्न सक्नुु अझ सकारात्मक भएको उल्लेख गरे ।
विद्यार्थीलाई सकारात्मक उर्जा प्रदान गर्ने एवं उनीहरुमा समाजसेवाको भावनालाई अझ विकास गराउने उद्देश्यले गुनासो लिएर आएका विद्यार्थीहरुलाई सम्मान गरिएको उनले जानकारी दिए ।साथै, उनले हरेक नगरबासीका समस्याप्रति नगरपालिका संवेदनशील रहेको पनि उल्लेख गरे ।

