

भैरहवा,१८ कात्तिक। । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व संकलन लक्ष्यभन्दा बढी गरेको छ। साउनदेखि असोज मसान्तसम्म कार्यालयले ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो। यो निर्धारित लक्ष्यभन्दा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बढी हो।
सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनाका लागि २९ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले लक्ष्यको ११३.८६ प्रतिशत राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ राजस्व उठेको थियो।
Advertisement

Advertisement
Advertisement
भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार, असोज महिनामा सबैभन्दा बढी १३ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी, चालु आवको असोजमा भैरहवा भन्सार नाकाबाट ३८ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने ४ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्।
सवारीसाधन, इन्धन, मोबाइल फोन तथा फलामजन्य वस्तु भन्सार राजस्वका प्रमुख स्रोत रहेका छन्। भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुङ्गानाका अनुसार असोज महिनामा प्रमुख १० आयातीत वस्तुबाट मात्रै १० अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
भन्सार प्रमुख हरिहर पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व संकलनमा सुधार आएको बताएका छन्।





