
भैरहवा,२५ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान गर्ने भएको छ । कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुग्नेछ ।
भैरहवा विमानस्थलबाट कतार एयरवेजले मंगलबार (भोली) देखि दोहा (कतार)–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन २ः४५ बजे भैरहवामा अवतरण गरेर यहाँबाट ४ः४५ बजे काठमाडौ हुँदै दोहा प्रस्थान गर्ने तालिका छ ।
Advertisement

Advertisement
Advertisement

कतार एयरवेजले काठमाडौंबाट दैनिक चार उडान गर्दै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतसम्भार सुरु भएको कारण दुई उडान कटौती भएपछि एयरवेजले भैरहवालाई ट्रान्जिट बनाएर दैनिक एक उडान सुरु गर्ने भएको छ ।
उनका अनुसार एयरेवेजले मंसिर १५ गतेसम्म उक्त रुटमा दैनिक एक उडान गर्ने गरी प्राधिकरणमा जाडोयामको तालिका पेश गरेको थियो । जुन आइतबार प्राधिकरणले स्वीकृतगरेसँगै एयरवेजको भैरहवाबाट उडान गर्ने बाटो खुलेको हो । मंसिर १५ गतेसम्मका लागि पेश गरेको तालिका स्वीकृत भएकोले एयरवेजले १९ वटा उडान गर्ने अनुमति पाएको छ ।
एयरवेजले मंसिर १५ गतेसम्म मात्र अनुमति मागेपनि क्रमशः एयरवेजले नियमित उडान गर्ने प्राधिकरणको अपेक्षा छ ।
भैरहवा विमानस्थलबाट गत शुक्रवारदेखि थाइ एयर एशिया सातामा दुई वटा र शनिवारदेखि नेपाल एयरलाइन्स सातमा चार वटा, फ्लाई दुबईले दैनिक एउटा र जजिरा एयरवेजले सातामा तीन वटा नियमित उडान थालिसकेका छन् ।

