
भैरहवा, २६ कार्तिक ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु गरेको छ । मंगलबार दोहाबाट भैरहवा विमानस्थलमा अवतरण भएको कतार एयरवेजलाई वाटर स्यालुट दिइएको छ ।
दोहाबाट ३३ जना यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको विमानबाट एक जना प्राविधिक भैरहवामा ओर्लिएपछि ३२ यात्रुसहित पुनः उक्त विमान यहाँबाट काठमाडौं प्रस्थानको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनले कतार एयरवेजले दैनिक दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा एउटा उडान गर्ने बताए । उनका अनुसार नियमित तालिका अनुसार उक्त विमान दिउँसो २ः४५ बजे भैरहवा अवतरण गर्ने र यहाँबाट ४ः४५ बजे काठमाडौं प्रस्थान गर्ने तालिका छ । र, त्यहाँबाट साँझ ६ः५५ बजे दोहा जाने छ ।
एयरवेजले जाडोयाम तालिका अनुसार भैरहवा विमानस्थलबाट उडानका लागि मंसिर १५ गतेसम्म अनुमति लिएको छ । त्यसपछि पनि कम्पनीले भैरहवाबाट नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको अपेक्षा छ ।
कतार एयरवेजको उडानसँगै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या पाँच पुगेको छ । यस अघि नेपाल एयरलाइन्स, थाइ एयर एशिया, जजिरा एयरवेज र फ्लाई दुबईले भैरहवा विमानस्थलबाट नियमित उडान थालिसकेका छन् ।

