
भैरहवा,५ मंसिर । क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले बताए । विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टिमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जित निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । आगामी जनवरी महिनामा मलेशियामा हुने विश्वकपमा नेपालको यू–१९ टिम पनि खेल्ने छ ।
Advertisement

Advertisement
Advertisement

क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले सम्मान गरेका हुन् ।
उनीहरुले उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्ड फहराउन सफल भएको भन्दै विश्वकर्मालाई बधाई दिए । विश्वकपमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । सम्मानित भएपछि विश्वकर्माले आफूले आफ्नो टिमको जितका लागि सधैं प्रयास गर्दै आएको र विश्वकपमा पनि अझ राम्रो गर्ने जनाइन् । यस्ता सम्मानले आफूलाई हौसला मिलेको क्रिकेटर विश्वकर्माको भनाई छ ।

