
भैरहवा, ७ मंसिर। महिला तर्फको यू-१९ किक्रेट खेलको विश्वकप खेल्नका लागि छनौट भएकी नेपाल टिमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ ।
विश्वकर्माको गृहक्षेत्र ओमसतिया गाउँपालिका कार्यालयले शुक्रवार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टिम छनौट हुँदा विश्वकर्मा सो टिममा सदस्य थिइन् ।
Advertisement

Advertisement
Advertisement

सम्मान कार्यक्रममा आफ्ना बुवा,आमा सहित उपस्थित भएकी ओमसतिया गाँपालिका-१ नयाँ गाउँको विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा राउत लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
खेलाडी विश्वकर्माले सम्मानले आफुलाई थप उत्साह र हौसला प्राप्त भएको भन्दै विश्वकपमा नेपाली महिला टिमले राम्रो प्रदर्शन गर्ने बताइन् ।

सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले विश्वकर्माले क्रिकेटको माध्यमबाट गाउँपालिकाको नाम पनि चम्काएको बताउँदै विश्वकप क्रिकेटमा छनौट हुन सफल आफ्नै गाउँको छोरीलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे । उनले खेलकुद क्षेत्रलाई अघि बढाउन सधै सहयोग रहने भन्दै क्रिकेट खेलमा छोरीलाई अघि बढाएकोमा तृष्णाको बुवा र आमालाई समेत बधाई दिए ।
गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै गाउँमा राष्ट्रिय स्तरको क्रिकेट खेलाडी रहेको र अहिले उनलाई सम्मान गर्न पाउदा हर्षित भएको जनाइन् । उनले तालिम र अवसर पाए महिलाहरूले पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण तृष्णाले देखाएको भन्दै खेल क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जनाइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले क्रिकेटले गाउँपालिकालाई चिनाएको भन्दै खेल क्षेत्रलाई अघि बढाउन गाउपालिका प्रतिबद्ध रहेको बताए । उनले सम्मानित खेलाडीको हौसलाकै लागी सानै रुपमा भए पनि सहयोग गरेको जनाउँदै भविष्यमा पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे।

तृष्णाका वुवा चन्द्रबहादुर विश्वकर्माले छोरीले मेहनत गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताए। गाउँपालिका कार्यालयको प्रशासन शाखा प्रमुख रुपा थापा राउतको संचालनमा सम्पन्न भएको कार्यक्रममा योजना शाखा प्रमुख सरस्वती घिमिरेले स्वागत मन्तव्य दिएकी थिईन् ।

