
भैरहवा, १६ मंसिर। सिद्धार्थनगर नगरपालिका कार्यालयद्धारा निर्मित सेमिनार हल र फोहोर व्यवस्थापन भवन आइतबार भीम अस्पताललाई हस्तान्तरण गरिएको छ ।
अस्पतालमा सेमिनार हल नहुदाँ तालिम, गोष्ठीका लागि अन्यत्र स्थान खोज्नुपर्ने बाध्यता थियो भने फोहोर व्यवस्थापन भवनको अभावका कारण उक्त क्षेत्रको वातावरण दुषित बन्नुका साथै अस्पताललाई चुनौती थपिदै गएको थियो । तर, अब यी दुवै समस्याबाट अस्पताल मुक्त हुने विश्वास लिइएको छ ।
Advertisement

Advertisement
Advertisement

आइतबार आयोजित हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले अस्पतालको फोहोर व्यवस्थापन गर्नका लागि प्रशासन तथा व्यवस्थापन पक्ष जिम्मेवार हुनुपर्ने बताए । ‘यो अस्पताल क्षेत्र अब सफा हुनुपर्छ’, उनले भने, ‘उपचारमा आउने बिरामीलाई पनि अस्पतालमा राम्रो व्यवहार गरिनुपर्छ ।’
उनले अस्पतालका कर्मचारीले १०–४ वा १०–५ बजेसम्म को मात्र काम हो भन्ने धारणाबाट माथि उठेर बिरामीप्रतिको आफ्नो दायित्वलाई ध्यानमा राख्न आग्रह गरे ।
सिद्धार्थनगरको उपमेयर उमा अधिकारीले अस्पतालमा राम्रो व्यवहार नभएको सेवाग्राहीको गुनासो आउने गरेकोले यसप्रति संवेदनशील बन्न आग्रह गरिन् । उनले अस्पतालका समस्याहरु प्राथमिकताका आधारमा प्राप्त भएमा क्रमिक रुपमा समाधान गर्दै लगिने प्रतिबद्धता जनाइन् ।
सिद्धार्थनगर–१३ का वडाध्यक्ष सोमबहादुर गुरुङले अस्पतालबाट निस्किने फोहोर अव्यवस्थित रुपमा जलाएर व्यवस्थापन गर्दा धुँवाले यस क्षेत्रको बातावरण प्रदुषित भइ आँखा पोल्ने, आँशु आउने जस्ता समस्या आएकाले समाधानका लागि आफूले पहल गरेको जनाए ।
भीम अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्ताले सिद्धार्थनगर नगरपालिकाद्धारा सेमिनार भवनको निर्माणले आयोजना गर्नुपर्ने विभिन्न तालिम, गोष्ठी र कार्यक्रमका लागि बाहिर होटलमा पैसा खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको बताइन् ।
‘कार्यक्रमका लागि बाहिर खर्चिनु पर्ने रकमले अब अस्पतालमा अन्य राम्रो कुनै कार्यक्रम गर्न स्रोतको व्यवस्थापन हुन्छ’,उनले भनिन्, ‘अस्पतालको फोहोर व्यवस्थापन भएन भनेर बारम्वार आउने गुनासोको पनि अव अन्त्य भएको छ ।’
सिद्धार्थनगरको करिब ५९ लाख रुपैयाँको लागतमा उक्त अस्पतालमा २ वटा सेमिनार हल, फोहोर व्यवस्थापन भवन, भुइँमा ब्लक र खानेपानीका योजना संचालन भएको हो ।

