
लुम्बिनी, ५ पुस । लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुईवटा बस बिहीबारदेखि सञ्चालन सुरु गरेको छ । एसियाली विकास बैंंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएकामध्ये दुईवटा बसको परीक्षणका लागि सञ्चालन सुरु गरिएको हो ।
एसियाली विकास बैंकको अुनदान सहयोगमा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानूनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन।
Advertisement

Advertisement
Advertisement

दाताले दिएको बस पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले बिहीबारदेखि परीक्षण स्वरुप बसमा दानपेटिका राखेर सञ्चालन सुरु गरेको हो ।
रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता (सि.के.) र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले विद्यतुीय बसको शुभारम्भ गरेका हुन् ।
बुटवलदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन सक्नेछन् । तर, बसभाडा भनेर पैसा लिइनेछैन ।
बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद् घिमिरेले कानूनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दीगो रुपमा सञ्चालन हुने बताए । उनले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटीले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गरे । सांसद् घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउँदा त्यसले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
त्यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अहिले परीक्षणस्वरुप दानपेटिका राखेर दुईवटा बस सञ्चालन गरिएको बताए । उपाध्यक्ष डा. लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटकपटक पहल गर्दा पनि नभएको बताउँदै अहिले संघीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिने गरी दानपेटिकाको विधिमार्फत सञ्चालन थालिएको बताए । उनले कानूनी अडचनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानून देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानार्कषण गराए ।
त्यस्तै पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य चन्दकेश गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शूभकामना दिए ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनकातर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले बसको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने बताए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रुपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दीगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा सिद्धार्थ होटल संघ, नेपाल अध्यक्ष चन्द्रप्रकाश (सिपी) श्रेष्ठ, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बोल्दै पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवद्र्धन हुने बताए ।
त्यसो त विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्व तीन सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार गरिसकेको थियो । सरकारी नम्बर प्लेट हरियो बनाउने कानून नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषदले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरे पनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको कोषाध्यक्ष भट्टराईले बताए । परीक्षण सञ्चालनमा सांसद् घिमिरेसहित कोषका पदाधिकारी, प्रदेश सांसद्, प्रमुख जिल्ला अधिकारी, पर्यटन व्यवसायीले दानपेटिकामा पैसा जम्मा गरेर लुम्बिनी परिक्रमा गरेका थिए ।
यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कार्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका थिए ।
एसियाली विकास बैंकको अनुुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान र चार्जिंग स्टेशन सोलार प्लाण्ट र सोलार चार्जर स्टेशन निर्माणका लागि झण्डै २८ करोड रुपैयाँ लागत लागेको थियो ।

