
भैरहवा, ८ पुस । रुपन्देही जिल्लामा निरन्तर मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीको टाउको दुखाई बढ्यो । दुःखाई नबढोस् पनि किन ? सीमित स्रोत, साधन र जनशक्तिले जिल्लाभर शान्ति-सुरक्षा कायम राख्दै कार्यसम्पादन उत्कृष्ट देखाउनुपर्ने । यसैमाथी थप यस्ता अपराधका घटना घटेपछि बढिहाल्छ नि टाउको दुःखाई ! शान्ति सुरक्षाको जिम्मेवारीले नागरिकको धनमालको पनि सुरक्षा गर्नैपर्यो । सेवाग्राहीहरुको निवेदन उपर कारवाही गरेर प्रहरीप्रतिको नागरिकको विश्वास कायम राख्नैपर्यो ।
घटना बढेपछि प्रहरीले चोरी भएका मोटरसाइकल खोजतलास गर्ने, चोरी नियन्त्रण गर्ने साथै संग्लनहरुलाई ‘खोरमा’ हालेर कारवाही गर्ने उद्देश्यले गत मंसिर २० गते देखि जिल्लाभर ‘क्लिन स्विप अपरेशन’ चलायो । प्रहरीको दिनरात खटाईले अपरेशन फलदायी देखियो । रुपन्देहीको सियारी गाउँपालिकाका पाँचजना सहित चोरी कार्यमा संग्लन आरोपमा ६ जनालाई प्रहरीले आफ्नो हिरासतमा राखेको छ । १२ वटा मोटरसाइकल बरामद गरेको छ ।
Advertisement

Advertisement
Advertisement

अपरेशनमा चोरी भएका लु५९प ७९२६, लु२५प ५५७६, लु३४प २६२६, लु३१प ६४०५, लु५९प ६९७९, लु४४प १५९८, लु५४प८४५०, बा२५प २५२६, लु१७प ३९१४, लु५२प ६९०६, प्र.-०२-०३८प ०९२३, लु१७प ४२०९ नम्बरका मोटरसाइकल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीद्धारा जारी प्रेस विज्ञप्तीका अनुसार मोटरसाइकल चोरी कार्यमा संग्लन आरोपमा पक्राउ पर्नेहरुमा रुपन्देहीको सियारी गाउँपालिका-२ का २६ वर्षीय शिव जयसवाल, सोही स्थानका १९ वर्षीय गणेश राजभर, २० वर्षीय शनि भर, सोही पालिका वडा नं. ७ का २४ वर्षीय शिव कुमार मल्लाह, वडा नं. १ का २४ वर्षीय अनिल यादव र पाल्पाको माथागढी गाउँपालिका- ७ (हाल बुटवल उपमनपा-१३) का २४ वर्षीय अर्जुन परियार रहेका छन् । यी आरोपीहरु उपर चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

