

दाङ,१७ कात्तिक। लुम्बिनी प्रदेश सरकारले दृष्टिविहिनता तथा दृष्टिदोषको समस्या न्यूनीकरण गर्न आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै लगानी र उपचारको पहुँच विस्तार गर्ने भएको छ।
मंगलबार लमहीमा नेपाल नेत्रज्योति संघले आयोजना गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सबै नागरिकलाई सहज रुपमा आँखा उपचार सेवा उपलब्ध गराउन प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। उनले संघले तयार पारेको पाँच वर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाए।
Advertisement

Advertisement
Advertisement
संघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार, लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना व्यक्ति दृष्टिविहीनताबाट प्रभावित छन्। त्यस्तै, दृश्य तीक्ष्णता का आधारमा ६र१२ भन्दा कम दृष्टि भएका व्यक्तिको अनुपात २७ प्रतिशत रहेको छ। यसबाट प्रदेशका २ लाख ७ हजार ९५७ जना प्रभावित रहेको अध्ययनले देखाएको छ ।
अध्ययनले विशेषगरी ग्रामीण तथा विपन्न समुदायमा आँखा उपचार सेवाको पहुँच कमजोर रहेको, दक्ष जनशक्तिको अभाव तथा उपचारपछिको अनुगमन प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले आँखा स्वास्थ्य रणनीति कार्यान्वयनका लागि पर्याप्त बजेट र दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिए।
संघले लुम्बिनी प्रदेशका पाँच र कर्णाली प्रदेशको एक गरी छ वटा अस्पतालमा गरेको अध्ययनले स्वास्थ्य संस्थालाई वातावरणमैत्री बनाउन बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउन सुझाव दिएको छ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तको अध्यक्षता र प्रदेश सभापति सागरप्रताप राणाले स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संघको पाँच वर्षे रणनीतिक योजना तथा आँखा सेवा प्रदायक संस्थाहरूको कार्बन उत्सर्जनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको थियो।





