
भैरहवा, ८ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासँग साझेदारी गर्न ब्रिटिश दूतावासले चासो देखाएको छ ।नगरमा रोजगारी सिर्जना गर्न, बालबिकास कार्यक्रम, प्रणाली सुधार, नव प्रर्वद्धन कार्यक्रम, स्थानीय पुर्वाधार बिकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दुतावासले चासो देखाएको हो ।
नेपाल सरकार मार्फत स्थानीय तहहरुमा विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको ब्रिटिश सरकारले दूतावासका कर्मचारीहरुमर्फत सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, प्रमुख प्रशसकीय अधिकृत जनक थापासँग भेट गरी यहाँको बस्तुस्थिती बारे बुझेको छ।
Advertisement

Advertisement
Advertisement

भेटको क्रममा दूतावासका सुशासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजश्व प्रणाली सुधार, स्थानीयको क्षमताबृद्धि गर्न विभिन्न तालिमहरु, नेपाल ईन बिजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताए ।
त्यस्ता क्षेत्रहरुमा हाल लुम्बिनीका केही पालिकाहरुमा प्रदेश सरकार मार्फत काम भैरहेको जानकारी दिदै सिद्धार्थनगरमा पनि आवश्यकताका आधारमा सहयोग गर्न सक्ने उनले जनाए।
सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले सीमित स्रोत र साधानका अभावमा पनि नगर बिकासमा उल्लेख्य काम भएको भन्द्र दातृनिकायबाट सहयोग पाउन सके यस नगरलाई नमुना नगरको रुपमा बिकास गर्न सकिने बताए ।
उनले रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, नगरको सुन्दरीकरण क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गरे। स्थानीय सरकारसँग जनताको धेरै अपेक्षा हुने तर स्रोत, साधन, अधिकार र बजेट सघिंय सरकारमै रहेकाले सोचे अनुसार काम हुन नसक्ने उल्लेख गर्दै उनले दातृ नियकायहरुले पनि सिधै स्थानीय तहसँग साझेदारी गर्न सक्ने वातावरण मिलाउनु पर्ने बताए ।
हाल दातृ निकायहरुले सोझै स्थानीय तहसँग साझेदारीमा काम गर्न नपाउने व्यवस्था छ। यस्तो अवस्थामा आफ्ना सहयोगी संस्था मार्फत स्थानीय तहहरुमा दातृनिकायले काम गर्दै आएका छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तो व्यवस्थालाई सुधार गर्न सके र सिधै स्थानीय तहले काम गर्न पाउने अवस्था आएका धेरै प्रभावकारी रुपमा काम हुने विश्वास व्यक्त गरे ।

