
भैरहवा, ११ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा थप ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरिएको छ । गत आर्थिक वर्षमा भैरहवामा उक्त प्रणाली पहिलो पटक जडान गरिएको थियो ।
सीमावर्ती शहर भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले उक्त प्रणाली जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए। सवारी दुर्घटना देखि अपराध न्यूनिकरण तथा अनुसन्धानका लागि उक्त प्रणालीको सहायताले सहज हुने बताइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप नगरपालिकाको कार्यालय विभिन्न कार्यहरु गर्दै आएको छ । जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको रंग, फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा सेभ गर्ने गर्दछ ।
जडान गरिएको उक्त प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ। भैरहवालाई सुरक्षित राख्न गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल अगाडी र बेलहिया बाईपासमा एएनपीआर जडान गरिएको छ।
‘सिद्धार्थनगर बजार क्षेत्र भएकोले यहाँ हुने सक्ने घटनालाई मध्यनजर गर्दै सवारी लगायत दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने, ‘त्यसैले हामीले यो प्रणाली थप जडान गरेका हौँ ।’ जडान गरिएको प्रणालीको कन्ट्रोलिङ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गर्नेछ ।
उनका अनुसार यसबाहेक नगरको अन्य १८ स्थानमा सीसीटीभी क्यामेराजडान गरेर नगरका गतिविधीहरु निगरानी गर्दै आएको बताए ।
बुद्धचोक, मायादेवी तरकारी बजार छिर्ने चोक, बसडिलहवा जाने चोक, बर्मेली टोल, जनकपथ, देवकोटा चोक, मिलचोक, बिद्रोही चोक, भाजुरत्न चोक, आँखा अस्पताल, मेउडिहवा, उद्योगपुरी, मायादेवी चोक, भैरहवा क्याम्पस अगाडी, बसपार्क, निर्भाना चोक लगायतका स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिए । अवाश्यकताको आधारमा थप एएनपीआर र सीसीटीभी जडान गर्ने योजना नगरपालिकाको रहेको उनले जनाए ।

