


भैरहवा, १२ पुस । भैरहव क्षेत्रका पत्रकारहरुको साझा संस्थ लुम्बिनी प्रेस क्लबले ‘ध्यान शिविर’ गरेको छ । क्लबले १० औं स्थापना दिवसको अवसरमा शुक्रवार ‘स्वस्थ मानिस, स्वस्थ विचार, मानसिक र शारीरिक स्वास्थ्यको लागि ध्यान’भन्ने मूल नारालाई आत्मसाथ गर्दै शिविर कार्यक्रम गरेको हो ।
कार्यक्रम संयोजक एलिना आचार्यले पत्रकारितासँगै समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नका लागि शिविरको आयोजना गरिएको बताइन् ।

‘स्वस्थ्य मानिसको परिभाषा शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्य पनि हो। विगतभन्दा अहिले बढी मानिसहरु डिप्रेसनको समस्याबाट ग्रसित भइरहेका छन्’,उनले भनिन्, ‘मानसिक रुपमा स्वास्थ्य रहनका लागि ध्यानमा पनि बस्नुपर्छ । जसकारण थोरै समय भएपनि मानसिक स्वास्थ्यका लागि हामीले ध्यान शिविरको आयोजना गरेका हौँ।’
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको ३.८ प्रतिशत जनसंख्या डिप्रेसनबाट ग्रसित छन् । ग्लोबल हेल्थ रिभ्यूका अनुसार १८.४ प्रतिशत मानिसहरु डिप्रेसनको सिकार भइरहेका छन् ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्वथ्य मानिसले नै समाजका लागि सकरात्मक काम गर्न सक्ने भएकाले ध्यानका कार्यक्रम आजको आवश्यक्ता रहेको बताइन् । उनले क्लबले समाजमा रचनात्मका कार्यक्रम गर्दै सकरात्मक सन्देश सन्देश फैलाउँदै आएको बताइन् ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले समाजलाई हिंसा रहित बनाउन पनि ध्यानको आवश्यक्ता रहेको कुरामा जोड दिए । समाजलाई शान्तिको मार्गमा अघि बढाउन क्लबले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरेको र बताए ।
कार्यक्रममा आन्तिरक राजस्व कार्यलय भैरहवाका प्रमुख, सुरक्षा निकायका प्रमुख, संघ संस्थाका प्रमुख, शैक्षिक क्षेत्रका प्रमुख लगायतको उपस्थिती रहेको थियो । ‘द आर्ट अफ लिभिङ्ग नेपाल’का प्रशिक्षक माया थापाको प्रशिक्षणमा सिद्धार्थ भिलासामा शिविर सम्पन्न भएको छ।

