
भैरहवा, १२ पुस। लक्ष्मी सनराईज बैंकले भैरहवामा डिजिटल वित्तिय संवाद कार्यक्रम आयोजना गरेको छ। बैंकले अंग्रेजी महिना डिसेम्बरलाई डिजिटल डिसेम्बर घोषणा गर्दै सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम मार्फत वित्तिय सचेतना दिने उद्देश्यसहित लुम्बिनी प्रदेशको भैरहवामा डिजिटल सम्बाद कार्यक्रम आयोजना गरेको हो।
बैंकले डिजिटल डिसेम्बर पहल अन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा यस क्षेत्रका व्यवसायी, बिद्यार्थी, प्राध्यापक,कर्मचारी,सुरक्षा निकाय लगायतका सरोकारवालासँग सम्बाद कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा सहभागीहरुले डिजिटल भुक्तानी लगायतका विषयमा जानकारी दिदै यसका फाइदासँगै नकारात्मक पक्षका बारेमा चर्चा गरेका थिए।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख बिज्ञान राज सुबेदीले नेपाल राष्ट्र बैंकको पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढिरहेको भन्दै जति बढी जनताहरुमा वित्तिय साक्षरता प्रदान गर्न सकियो त्यति बढी डिजिटल भुक्तानीको ब्यापकता बढने बताए । ‘नेपाल राष्ट्र वैंकको मुख्य एजेन्डाका रुपमा वित्तिय साक्षरता छ’,उनले भने,‘त्यसैले हामीले सबै स्टेक होल्डरहरुलाई वित्तिय साक्षरता अनिवार्य गर्न लगाउने गरेका छौँ।’
डिजिटल भुक्तानी वा डिजिटल बैंकिङका क्रममा सेवाग्राहीमा प्राविधिक समस्या आउने गरेको मात्र नभई ठगिएको गुनासो समेत आउने गरेकाले त्यस्ता प्राविधिक पक्षको समाधानमा सेवाप्रदायक संस्था लाग्नु पर्नेमा जोड दिदै बढीभन्दा बढी डिजिटल बैंकिङ साक्षरतामा जोड दिए। उनले लुम्बिनी प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बढीरहेको जनाए ।
डिजिटल संवाद कार्यक्रममा रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुरज कार्कीले डिजिटल भुक्तानीले आम सर्बसाधारणलाई धेरै सजिलो बनाईदिएको बताउँदै समस्या पनि रहेको जनाए ।
डिजिटल पेमेन्टका माध्यमबाट ठगी, बैंकको कर्मचारी भन्दै ओटिपी माग गरी ठग्ने, फेक अनलाइन पसल खोली अनलाइन पेमेन्ट माग गरी ठगी, स्पाम मेसेज गरी डिजिटल पेमेन्ट मार्फत सर्बसाधारण ठगीने गरेको भन्दै यस्ताबाट सबै सचेत हुने गरी डिजिटल भुक्तानी अझ प्रभावकारी, भरपर्दो र सुरक्षित बनाउनु पर्नेमा जोड दिए ।
सर्बसाधारणले चेक बाउन्स,साइबर अपराध, अनलाइन ठगी लगायतका समस्या लिएर कार्यालयमा आउने गरेको र डिजिटल पेमेन्ट, साइबर वा अनलाईन ठगीको अनुसन्धान केन्द्रबाट हुने भएकोले सिमित श्रोत साधनका कारण समय लाग्ने गरेको उनको भनाई छ।
डिजिटल भुक्तानी भएको देखिने तर उता अर्को संस्था वा व्यक्तिको खातामा भुक्तानी नहुने समस्या पनि आउने भएकाले त्यस्ता बिषयमा अटो रिफन्ड हुने व्यवस्था रहेकोले सेवाग्राहीलाई सुबिधा पुग्ने उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बैंकिंग कारोबारमा डिजिटल भुक्तानीले सबैलाई फाइदा पुरएको बताए । ‘अहिले पैसा मात्र होइन, संसारनै मोबाइलमा रहेको छ, नबिन प्रबिधीले व्यवसाय अघि बढाउन मद्दत गरेको छ’,उनले भने,‘उद्योग व्यवसाय क्षेत्रमा अझ बढी फाइदा पुगेको छ। डिजिटल भुक्तानी क्यास लेस मात्र नभई फेस लेस कारोबार हो।’
अनलाईन बिजनेशसँगै अनलाइन पेमेन्ट बढ्नुका साथै नकारात्मक विषयहरु पनि बढ्दै गएको उनले जनाए । व्यक्तिगत खातामा पेमेन्ट गर्दा १० रुपैयाँमा पनि ११ रुपैया भन्दा बढी शुल्क लाग्ने रहेकोमा न्यूनतम भुक्तानी तोक्ने र चेक क्लियरींगमा लगाउन थालिएको मुल्य अभिवृद्धि कर खारेज गरी डिजिटल भुक्तानीलाई अझ बढी लोकप्रिय बनाउन सकिने उनको धारणा छ।
रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिबेन्द्र उपाध्यायले डिजिटल साक्षरता र भुक्तानी कोरोना महामारीपछि एकदम ब्यापक भएको बताउँदै युवा बिद्यार्थीहरुले बढी फाइदा लिएको जनाए । ‘यसको गलत प्रयोग पनि सुनिएको छ ।त्यस्तालाई निरुत्साहित गर्नु पर्छ । भुक्तानी गर्ने स्थानमा इन्टरनेट सुबिधा हुदैन’, उनले भने,‘त्यस्ता स्थानमा सेवाग्राहीले डाटा प्रयोग गरी भुक्तान गरेको पाईन्छ ।त्यसैले सेवाग्राहीलाई सेवाप्रदायकले यो सेवा लिए सँगै वार्षिक रुपमा न्यूनतम डाटाको सुबिधा पनि उपलब्ध गराउनु पर्छ।’
म्हिला उद्यमी एवं काशी सिने प्लेक्सकी निर्देशक अञ्जु जैशीले महिलाहरुमा वित्तिय साक्षरता मात्र नभई डिजिटल भुक्तानी गर्ने क्रम समेत बिस्तारै बढदै गएको बताईन् । यसलाई ब्यापक बनाउन अझ बढी बैंकिङ शिक्षा आवश्यक रहेको उनको भनाई छ।

लुम्बिनी रण अम्बिका आँखा अस्पतालका बित्त प्रमुख भेष बिक्रम थापाले डिजिटल भुक्तानीले सबैपक्षलाई फाइदा पुगेको जनाउँदै नकारात्मक पक्षलाई समाधान गर्दै अघि बढनु पर्नेमा जोड दिए । उन्ले अस्पतालमा आउने भारतीय सेवाग्राहीले समेत डिजिटल पेमेन्ट गर्ने गरेको बताए ।
कार्यक्रममा भुक्तानी प्रदायक सस्था आइएमइ पे का लुम्बिनी प्रमुख सुभाष गैरेले भुक्तानी प्रदायक संस्था आईएमई पे ले दिदै आएको सबै किसिमको सेवा सुबिधा साथै डिजिटल बैंकिङबारे जानकारी दिएका थिए।
बैंकका डिजिटल च्यानल अपरेसन्स बिभाग प्रमुख सुमन प्रसाद गेलालले डिजिटल भुक्तानीमा सेवाग्राहीलाई थाहा हुँदाहुँदै पनि समस्या देखिने गरेको भन्दै वित्तिय साक्षर छु भन्नेहरुबाट बढी समस्या हुने गरेको र चेक बाउन्स त्यसको उदाहरण रहेको बताए । गेलााले डिजिटल भुक्तानीका कारण लिने र दिने बिचको भौतिक उपस्थितलाई बिस्थापित गरेको भन्दै यो भुक्तानी प्रणालीलाई देश बिदेशका सीमानाले नरोक्ने र बिदाको दिन मात्र नभई चाहेको बेलामा गर्न सकिने भएकाले सबैलाई सहज र सजिलो बन्दै गएको बताए।
लक्ष्मी सनराइज बैंकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कण्डेलले डिजिटल बैंकिङले सर्वसाधरणको दैनिक जीवनलाई कसरी प्रभावकारी बनाएको छ ?यसको महत्व फाईदा के के छन? वित्तिय साक्षरताको अहिले सम्मको प्रयास लगायतका बिषयमा सरोकारवालासँग सम्वाद गर्ने उद्देश्यले केन्द्रिय कार्यालयको नीति अनुसार कार्यक्रम गरिएको बताए।
बैंकले चालु डिसेम्बर महिनामा डिजिटल कारोबारलाई प्रवद्र्वन गर्ने उद्देश्यले विभिन्न अफर, अभियान तथा अन्तरक्रियाहरु गरी डिजिटल डिसेम्बरका रुपमा मनाईरहेको र यसै सन्दर्भमा बैंकले यस क्षेत्रका विभिन्न व्यवसायी, शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थितिमा डिजिटल भुक्तानी लगायतका बिषयमा डिजिटल सम्बाद कार्यक्रम गरेको लक्ष्मी सनराइज बैंक भैरहवा शाखा प्रबन्धक सन्तोस सापकोटाले बताए ।

