


भैरहवा, १३ पुस । रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन् । शुक्रबार रोहिणी-४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो ।
घरटहरा हटाउन सूचना जारी गर्दा पनि नहटाईएपछि डोजर लगाएर हटाईएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । बाटो निर्माण कार्यमा सहयोग गर्नका लागि गत मंसिर २८ गते गाउँपालिकाले सूचना जारी गरेको थियो। उनका अनुसार २०/२५ वटा घरटहरा भत्काइएको छ।

उनका अनुसार आर्थिक वर्ष ०८१/०८२ अन्तर्गत कोटहवा गाउँमा कालोपत्रे सडक निर्माण कार्यमा अवरोध गर्ने घर, टहरा खाली गर्न गाउँपालिकाकाले सूचना जारी गरेको र खाली नगरिएपछि डोजर चलाइएको हो ।
स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको उपस्थितिमा डोजर लगाएर घरटहरा भत्काइएको हो ।

