
भैरहवा, १४ पुस। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले यस क्षेत्रको विकासका लागि निर्वाह गर्दै आएकोे भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले जोड दिएका छन्।
क्लबको १०औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवामा आयोजित कार्याक्रममा बोल्दै वक्ताहरुले क्लबले पत्रकारितासँगै अन्य क्षेत्रमा खेलेको भूमिका र गरेका कामको प्रशंसा गरे । भैरहवा, लुम्बिनी, धकधइ, मर्चवार सहित सिंगो रुपन्देही जिल्लासँगै मुलुकमै क्लबको गरिमा झनै बढ्दै गएको उनीहरुले जोड दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनी प्रेस क्लब धेरै उचाईमा पुगेको बताए । उनले क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानादेखि वर्तमान अध्यक्ष कमल रायमाझीसम्म नेतृत्वको टीम राम्रो र समाजमा केही गरौं भनेर छाप छाड्ने किसिमको रहेको बताए । उनले क्लबका पछिल्ला गतिविधि र कामले समाज गरिमा र उचाई थप बृद्धि हुँदै गएको जनाउँदै सकारात्मक र रचनात्मक कामलाई निरन्तरता दिन आग्रह गरे ।
‘पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाबाट अक्षयकोष स्थापना, पत्रकारलाई सम्मान लगायत कार्य अघि बढाएका छौं’, उनले भने, ‘राज्यको चौथो अंग सञ्चार क्षेत्रले हामीलाई झकझकाउने काम गर्छ, गर्नुपर्छ । हामी सधैं साथमा हुन्छौं ।’ उनले तीन तहका सरकारलाई मिडियाले सचेत गराउँदै आएको जनाए।
‘तपाईंहरु ढुक्क हुनुस्, तपाईंहरुको कदममा हामी साथ छौं’, उनले भने, ‘सिद्धार्थनगरको भविष्य उज्यालो छ । क्लिन, ग्रिन एण्ड इकोफ्रेण्डली सिटी (शहर) बनाउँछौं । यसमा निजी क्षेत्र र संचार क्षेत्रको हामीले साथ पाउने छौं । सुन्दर नगर बनाउन लागिपरेका छौं ।’ उनले लुम्बिनी प्रेस क्लबसँग हातेमालो गर्दै अघि बढ्ने भन्दै सिद्धार्थनगरको प्रवेशद्वार बेलहिया नाकालाई राम्रो र व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पत्रकार र पत्रकारिता क्षेत्रको विकाससँगै समाजिक क्षेत्रमा समेत काम गरिरहेको जनाए । उनले कसरी हुन्छ यस क्षेत्रलाई चलायमान बनाउने, उद्योग–व्यवसाय र पर्यटन क्षेत्रलाई साकारात्मक उर्जा प्रदान गर्न क्लबमा आबद्ध पत्रकार र क्लबले काम गरिरहेको बताए । ‘हामीले हाम्रो लाभ भन्दा समाज र यस क्षेत्रको लाभलाई अगाडि सारेर काम गरिरहेका छौं’, उनले भने, ‘हाम्रो हरेक गतिविधिमा यहाँहरुको साथ र सहयोग छ ।’
उनले क्लब एकताबद्ध भएर अघि बढेकै कारण धेरै काम गर्न सकिएको बताए । उनले भने, ‘हामी समाचार लेख्नुका साथै समाजलाई सही मार्गमा अगाडि बढाउन आफ्नो भूमिका निर्वाह गर्छौं । हामीले नकारात्मक सोच हटाउनुपर्छ । सकारात्मक सोचको विकास गर्नुपर्छ । एक–अर्कालाई दोष दिएर उम्कने प्रवृत्ति हटाउनुपर्छ ।’
क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले पत्रकारको समाजप्रति उत्तरदायित्व रहेको बताए । उनले क्लब अझै गतिशिल बन्दै जाने विश्वास व्यक्त गरे । इतिहासकार तथा साहित्यकार विजय गोविन्द श्रेष्ठले प्रेस क्लबले छोटो समयमा लामो र सम्झन लायक काम गरेको जनाए ।
उनले यस क्षेत्रका हरेक गतिविधिलाई सकारात्मक तरिकाले बाहिर ल्याउने काम क्लबमा आबद्ध पत्रकारहरुले गरिरहेको जनाए । उनले पत्रकारहरुले प्रश्न गर्न छाड्नु नहुने जनाए । ‘तपाईंहरुको मेहिनतले क्लबले एउटा ऐतिहासिक उचाई प्राप्त गरेको छ । यसलाई अझै राम्रो र बलियो बनाउँदै लैजानुस्’,उनले भने ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले प्रेस क्लबसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले क्लबका हरेक गतिविधिमा सहकार्य गरेर अघि बढ्ने बताए । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले पत्रकारको हकहितलाई संरक्षण गर्नुका साथै लुम्बिनी प्रेस क्लबले मानवीय सँगसँगै सामाजिक विकासमा समेत टेवा पुर्याएको बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले क्लबले भन्सारमा हुने हरेक सकारात्मक गतिविधिलाई समाचारका माध्यमबाट बाहिर ल्याउने र अनैतिक क्रियाकलापमा रोक लगाउन खबरदारी समेत गराउँदै आएको बताए । उनीहरुले क्लबको गरिमा र उचाई बढेको भन्दै खुशी व्यक्त गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निजी क्षेत्र उत्थानका लागि निजी क्षेत्रले चाल्ने हरेक पाइलामा क्लबले साथ दिँदै आएको बताए । आफूहरुले क्लबसँग सहकार्य गरेर अघि बढ्ने भन्दै क्लबले प्राप्त गरेको उचाईलाई अझ माथि उठाउन सुझाव दिए ।
सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख उमा काफ्लेले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न र सुशासनको पक्षमा कलम चलाउन क्लबका सदस्यहरुलाई आग्रह गरिन् । सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विगतका दिनदेखि नै यस क्लबले संस्थाले आयोजना गर्ने हरेक कार्यक्रमलाई समाचारमार्फत देशविदेशमा पुर्याउने काम गरेको बताए ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रूपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले क्लब निष्पक्ष गतिशील रुपमा सञ्चार यात्रामा रहने अपेक्षा गरेको बताए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय, भैरहवा प्रमुख ब्रह्माकुमारी शान्ति दिदी, पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु केसी, अग्रज पत्रकार दीलिप भट्टराई लगायतले बोल्दै लुम्बिनी प्रेस क्लबले पत्रकारिताको विकाससँगै विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै प्रशंसा गरे ।
वि.सं. २०७२ पुस १४ मा स्थापना भएको क्लबले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा क्लबले मैत्रीपूर्ण फुटसल, भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध सञ्चार यात्रा र भैरहवामा ध्यान शिविर आयोजना गरिएको महासचिव प्रकाश न्यौपानेले बताए । उनले क्लबका हरेक गतिविधिमा प्रत्येक्ष–अप्रत्येक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिन सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थापना दिवस समारोहमा मैत्रीपूर्ण फुटसलको विजेता जिल्ला सुरक्षा समिति, उपविजेता लुम्बिनी प्रेस क्लब ‘बी’ टिमलाई पुरस्कार तथा प्रतियोगितामा सहभागी सम्पूर्ण टीमहरुलाई प्रमाणपत्र वितरण गरिएको क्लबका उपाध्यक्ष दीपक घिमिरेले बताए । बौद्ध सञ्चार यात्रामा सहभागी सम्पूर्णलाई प्रशंसा–पत्र प्रदान गरिएको क्लबका सह–कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताले जानकारी दिए । क्लबमा भैरहवा, लुम्बिनी, मर्चवार, धकधई क्षेत्रका ४३ जना पत्रकारहरु आबद्ध छन् ।

