
भैरहवा, २७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शनिवारदेखी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चपाईँले मुलुकलाई चिनाउने पहिलो माध्यम खेलकुुद बनेको उल्लेख गर्दै खेल क्षेत्रको बिकासका लागि सबै पालिकाहरुले लगानी वृद्धि गर्नुपर्ने बताए । पछिल्लो समय पालिकाहरुले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखन थालेको भन्दै उनले यो सकरात्मक विषय भएको बताए ।
Advertisement

Advertisement
Advertisement

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँले स्वस्थ्य शरिरबाट मात्रै स्वस्थ्य मतिष्कको बिकास हुने हुँदा बिद्यार्थीको सर्वाङ्खिक बिकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले जानकारी दिए ।
उपप्रमुख उमा अधिकारीले खेलले विद्यार्थीलाई लगनशिल र अनुशासित बनाउने भन्दै अनुशासनले नै मानिसलाई सफल बनाउने बताईन् । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको छ ।
खेल उद्घाटन पुर्व विद्यार्थीहरुले पक्लिहवा माध्यमिक बिद्यालयको खेल मैदानमा झाकी सहितको मार्चपास गरेका थिए । मार्चपासका अमर ज्योति माध्यमिक विद्यालय प्रथम, मुनलाई मावि द्धितीय र सु–संस्कृत मावी तृतीय भएको छ । उनीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

तियोगिता सिद्धार्थनगर वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको खेलमैदानमा भैरहेका छन् । प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागिता रहेको युवा, शिक्षा तथा खेलकुुदा शाखाका प्रमुख चेतनशिल लम्सालले जानकारी दिए ।
त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहेको छ । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागिता छ।एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागिता रहेको छ । प्रतियोगिता अवधिभर ४२ वटा इभेन्टमा खेल हुनेछन् । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागिता छ ।
सबै इभेन्टतर्फ प्रथम, द्वितिय र तृतियलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेले बताइन् । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, शिक्षा समिति सदस्य मोतिलाल सुवेदी, गोकुुल पोखरेल, वेलहिया माध्यमिक विद्यालयका प्रधानाध्यापक विना भण्डारी लगायतले बोलेका थिए ।
प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथी, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्रबहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।





