


भैरहवा, २९ पुस। लायन्स सामाजिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रतीक पौडेल पुरस्कृत भएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देही र लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीबीचको सहकार्यमा स्थापित उक्त पुरस्कारबाट पौडेल पुरस्कृत भएका हुन् ।
सोमबार भैरहवामा लायन्स भैरहवा ग्रीन सिटीले एक कार्यक्रमको आयोजना गरी उनलाई नगद दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष मनोज क्षेत्रीले बताए ।

पत्रकारिताको माध्यमबाट लायन्सका गतिविधिहरु सम्प्रेषण गरी सर्वसाधारणसम्म पुर्याएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेललाई सम्मान गरिएको क्लबका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक डेपुटी सेक्रेटरी गोविन्द प्रसाद गिरीले बताए । सन् २०२० सालमा स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले लुम्बिनी प्रेस क्लबसँगको सहकार्यमा सामाजिक पत्रकारिता पुरस्कार स्थापना गरेको गिरीले जानकारी दिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२४/०२५ का अध्यक्ष कमल रायमाझी, क्लबका पूर्वअध्यक्ष श्री रायमाझी लगायतले पौडेललाई उक्त पुरस्कार प्रदान गरे। विगत आधा दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पौडेल समता टेलिभिजनमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य समेत हुन् ।
कार्यक्रममा क्यान्सर रोगको उपचार गराइहेका अग्रज पत्रकार मनोरन्जन शर्मालाई पनि आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । शर्मा कारोवार दैनिकका लुम्बिनी प्रदेश प्रमुख समेत छन् ।
उक्त अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर पीएमजेएफ पुरुषोत्तमभक्त प्रधानाङ्गले लायन्स सदस्यको कर्म र पत्रकारहरुको कर्म दुबै समाजसेवा भएको बताए । उनले सामाजिक र मानवीय सेवा गर्नु नै धर्म भएको बताए ।
क्लबका अध्यक्ष रायमाझीले पत्रकार र लायन्स सदस्यको कर्मले सबैलाई एउटै सुत्रमा बाँधेको बताए । उनले दुबै क्षेत्रका सदस्यले मिलेर काम गरेमा वास्तविक समाजसेवा हुने बताए । सम्मानित भएका पत्रकार पौडेलले यो सम्मानले प्रोत्साहन मिलेको भन्दै आगामी दिनमा पनि लायन्सका गतिविधिबारे कलम चलाउने बताए।

