
काठमाडौ, २ माघ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भएको छ ।
मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधिश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेका हो । न्यायाधिश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ ।
Advertisement

Advertisement
Advertisement

लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसपछि काठमाडौंमा दर्ता भएको सहकारी ठगी मुद्दामा उनी आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।
उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेरी दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।
यस अगाडि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा काठमाडौं जिल्ला अदालतको आदेशपछि रिहा भइसकेका छन्।

