
भैरहवा, ६ माघ । कतिसम्म लाचार हुने ? व्यक्तिले पनि एउटा सीमा निर्धारण गरेको हुन्छ । तर, रुपन्देहीको सिद्धार्थनगर सरकार यति लाचार भएको छ कि भनिसाध्य छैन । व्यवसायीहरु स्थानीय सरकारको करको दायरा नआएपनि हुन्छ । कारवाही हुँदैन । बाटोमै यत्रतत्र फोहोरको थुप्रो फाल्नुस । स्थानीय सरकार चुपचाप आँफै उठाएर लैजान्छ । केही भन्दैन ।
पालिकाको हितमा गरिएको निर्णय ‘मिलीजुली’ कार्यान्वयन नगरेपनि हुन्छ । सिद्धार्थनगर हेर्न आउँदैन । दुध दिदाँसम्म गाई पाल्नुस्, दिन छाडेपछि सडकमा छाड्नुस् । सिद्धार्थनगर सरकारले केही गर्दैन् । बरु उल्टै विकासमा खर्च गर्ने रकम गाई-गोरुको व्यवस्थापनमा गर्छ ।
Advertisement

Advertisement
Advertisement

सडकमा छाडा चौपाया (गाई-गोरु) को संख्या बढेपछि सिद्धार्थनगरले केही समय अघि त्यसलाई रोक्नका लागि किसानहरुको गोठमा पुगेर पालिएका गाई-गोरुको पहिचानका लागि कानमा ट्याग लगाईदिएको थियो । तर, स्थानीय किसान व्यवसायीहरुले पनि कारवाही गर्न नसक्ने लाचार सिद्धार्थनगर सरकारलाई के टेर्थे र ! कानमा ट्याग लगाइएका पालिएका गाईगोरु सडकमा फेरी छाडिदिए । सरकारले कडा कारवाही गर्नै सकेन । मनोबल बढ्दै गयो । फेरी दुवै उही पुरानै ढर्रामा लागे ।
किसान व्यवसायीले गाई-गोरु छाड्ने, लाचार सिद्धार्थनगर सरकारले पैसा खर्च गरेर व्यवस्थापन गर्ने । यतिसम्म कि आफ्नो नागरिकले छाडेका गाई-गोरुको साथै छिमेकी पालिकाबाट आएका गाई-गोरु पनि लठ्ठी लिएर सोर्नु परेको छ ।

यस पटक सिद्धार्थनगर सरकारले कपिलबस्तुको बाणगंगा नगरपलिकासँगको समन्वयमा छाडा गाई-गोरुको व्यवस्थापन सुरु गरेको छ । शनिवारदेखि व्यवस्थापन सुरु गरिएको छाडा गाई गोरुको संकलित संख्या ५० पुगेको र गाईगोरु धनीले दावी गरेमा सात हजार जरिवाना लिएर छाड्ने सिद्धार्थनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
छाडा चौपायाका कारण बजारका व्यवसायी, सडकमा गुड्ने सवारीसाधन देखि किसानसम्मलाई समस्या भएपछि व्यवस्थापन सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । छाडा चौपाया व्यस्थापनको लागि पालिकाको वडा नं ११ मा स्थित गौशाला निमार्ण गर्न लागिएको र निमार्ण सम्पन्न नहुञ्जेल गौशाला र चरण क्षेत्र भएका पालिकाहरुसँग समन्वय गरेर व्यस्थापन गरिने उनले जानकारी दिए ।
सिद्धार्थनगर वडा नम्बर ४ का वडाअध्यक्ष एवं छाडा चौपाया व्यवस्थापन संयोजक मुक्तिनाथ यादव यादवले गाईगोरु धनीले हेलचेक्राई गरी जथाभावी छाड्दा छाडा चौपाया व्यवस्थापन चुनौती बनेको उल्लेख गरे ।

