
भैरहवा,६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराध मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दर्ता गरेको हो।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ट्रक (प्रहरीको वान्टेन) भरेर मुद्दामा लाग्ने प्रमाण र मिसिल अदालत पठाएपछि त्यसलाई रुजु गरेर साँझ दर्ता गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा थप अभियोगपत्र र पुरक अभियोगपत्रबाट ३९ जना विरुद्ध आज मुद्दा दर्ता भएको छ’, जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले क्लिक लुम्बिनीसँग भने, ‘मुद्दाका सबै प्रतिवादी फरार छन् ।’
लामिछाने गृहमन्त्री भएको बेला सहकारी ठगीमा उनलाई उनमुक्ति दिँदै २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । त्यसपछि थप अभियोग पत्रबाट एक जना दिनेश रोक्काउपर सम्पत्ति शुद्धिकरण र १६ जना उपर सहकारी ठगी, संगठित अपराधमा मुद्दा दर्ता भएको छ । त्यस्तै पुरक अभियोगपत्रबाट लामिछानेसहित २२ जना विरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका छन् । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा लामिछाने थुनामुक्त भएका हुन्।
कास्की प्रहरीको नियन्त्रणमा रहेका बेला लामिछानेलाई गत कात्तिक २७ गते भैरहवा ल्याएर सुप्रिम सहकारी रकम अपचलनका सम्बन्धमा साढे २३ घण्टा बयान लिइएको थियो। जसमा उनले इन्कारी बयान दिएका थिए।

